Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी महानुभावहरुको गणतन्त्र दिवसमा यस्तो छ, भाषणमय सन्देश !

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन् ।

पहिलो पटक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको र यसको कार्यान्वयनका सुरु भइरहेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको उल्लेख गरेकी छिन् ।

राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन् ।

उपराष्ट्रपति, नन्दबहादुर पुन:

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको प्रत्येक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । उहाँले अब संविधान कार्यान्वयन, समृद्धि र राष्ट्र निर्माण सब नेपालीको साझा कार्यभार बन्नुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री, केपी शर्मा ओली:
प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको र यसले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्ग लगायत सम्पूर्ण नेपालीले आजसम्मको सङ्घर्षबाट प्राप्त गरेका अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको र सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्धनको बाटो फराकिलो गरेको बताए ।

संविधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक सङ्क्रमण मूलतः अन्त्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको बताए । भूकम्पको महाविनाश, तनाब, आन्दोलन, बन्द र आपूर्ति व्यवस्थामा पैदा भएका सङ्कटलाई पार गर्दै अहिले मुलुक पुनःनिर्माणमा जुटेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकाङ्क्षालाई साकार पार्न दृढता र तीव्रताका साथ अघि बढ्नु आवश्यक भएको सन्देशमा उल्लेख गरेका छन् ।

सभापति, शेरबहादुर देउवा:

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवस २०७३ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । 
गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै उनलेनेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको उल्लेख गरेका छन् ।

मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको बताउँदै उनले नेपाली जनताको छ दशक लामो सङ्घर्ष र बलिदानपछि आफ्ना प्रतिनिधिमार्फत संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक संविधान निर्माण भएको बताएका छन् ।

संविधानको कार्यान्वयन र गणतन्त्र संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सिपी मैनाली:

नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधानले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरेका छन् । उपप्रधानमन्त्री मैनालीले त्यसको कार्यान्वयनमा लोकतन्त्रका लागि सङ्घर्षरत सम्पूर्ण राजनीतिक शक्तिबीच एकताको खाँचोमा जोड दिएका छन् ।

लोकेन्द्रबहादुर चन्द:

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न राप्रपा र राप्रपा नेपालबीच एकीकरणको प्रक्रिया अगाडि बढेको बताएका छन् । पार्टीको २७ औँ स्थापना दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता एवम् आर्थिक समृद्धिको उद्देश्यसहित राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक पहिचान एवम् आदर्श बोकेर पार्टीको स्थापना भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्