Logo
१५ चैत्र २०८०, बिहीबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्ट बैंकमाथि भारतका लागि सुराकी गर्ने गरेको संगीन आरोप !

काठमाण्डौ । भारतको पञ्जाब नेशनल बैंकको लगानी सहकार्यमा नेपालमा संचालित एभरेष्ट बैंक लिमीटेडमाथि आफ्नो कारोबार र ग्राहकका डाटाको गोपनियता भंग गर्ने गरेको संगीन आरोप लागेको छ । बैंकले कारोबार गोप्य नराख्ने गरेको संगीन खुलासा गरेको हो । 
समाचारमा यो बैंकले नेपाल र यहाँका उच्चपदस्थहरुको संवेदनशील सूचना भारतीय बैंकमा पठाउने गरेको र भारत सरकारका लागि सुराकी गर्ने गरेको गम्भीर दाबी समेत गरिएको छ । एभरेष्ट बैंक कारोबार, नाफा र ग्राहक संख्याको हिसाबले नेपालका उत्कृष्ट बैंकहरुमध्येको एक हो । ग्राहकहरुले पत्याएको यो बैंकले नेपालबाट गोप्य सूचना भारतसम्म पुर्याउने गरेको संगीन आरोप लागेसँगै यो बिषयमा सरकारी स्तरबाटै गम्भीर छानबिन हुनुपर्ने देखिएको छ ।
समाचारमा एभेरेष्ट बैंकले नेपालमा हुने विभिन्न व्यक्तिका कारोबार भारत पठाउने गरेको आरोप लागेको हो । बैंकिङ कारोबारका लागि जम्मा गरिने विवरण भारत पठाउने गरिएको समाचारले दाबी गरेको छ । देशको उच्च राजनीतिक व्यक्ति, मन्त्री र सांसदसम्मको खाता यही बैंकमा छ । ‘उनीहरुका सवै विवरण भारतमा पनि छन् ।’–स्रोत भन्छ । देशका राष्ट्रपतिदेखि विभिन्न दलका प्रमुख नेताहरुको खाता पनि यही बैंकमा रहेको छ ।
नियमत र गोप्य राखिनुपर्ने ग्राहकको खाताको विवरण भारतस्थित एभेरेष्ट बैंकको जोइन्ट भेञ्चर पार्टनर बैंक पञ्जाव नेश्नल बैंकमा जाने गरेको पत्रिकाको दाबी छ । भारतीय विभिन्न निकायका अधिकारीले ति विवरणमाथि चासो राख्ने र आवश्यक सूचना लिने गरेको पनि पत्रिकाले दाबी गरेको छ ।
बैंकमा धेरै पैसा राख्ने वा धेरै कारोबार गर्ने व्यापारी, देशका सरकारी कर्मचारी र नेताहरुको खाताको विवरण बैंकमा गोप्य नरहने पत्रिकाको दाबी छ । पन्जाव नेश्नल बैंक (पीएनबि) ले एभेरेष्ट बैंकको २० प्रतिशत ‘इक्वीटी’ होल्ड गरेको छ । यो बैंक भारतमा पनि देशभर शाखा भएको बैंक हो । पञ्जाव नेश्नल बैंकको ६६३५ बढी शाखा छन् ।
यो बैंकले नेपालको एभेरेष्ट बैंकलाइ प्राविधिक सहयोग गर्छ । यस्तो सहयोग गर्नका लागि एभेरेष्ट बैंक र पन्जाव नेश्नल बैंक बीच ‘टेक्निकल सर्भिस अग्रीमेन्ट’ भएको छ । यो करारका अनुसार पन्जाव नेश्नल बैंकले एभेरेष्ट बैंकलाइ सम्पूर्ण प्राविधिक सुविधा दिने गरेको पत्रिकाले जनाएको छ ।
स्रोतका अनुसार यही करारका आधारमा पञ्जाव नेश्नल बैंकले एभरेष्ट बैंकका कुनै पनि खाता र तिनका विवरण हेर्न सक्छ । ‘तिनै विवरणहरु बैंकले भारतीय गुप्तचरहरुलाई पठाएर बैंकले देशका नागरिकहरुको गोपनियताको हक विपरित काम गरेको छ ।’ पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।
शुक्रबार काठमाण्डौबाट प्रकाशित जनआह्वान  पत्रिकाले जनाए अनुसार एभेरेष्ट बैंकमा नेपालका चर्चित व्यापारीदेखि नेताहरुसम्मको खाता छ । स्रोतले दिएको जानकारी अनुसार एभेरेष्ट बैंकमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, अन्य उच्च अधिकारी, सेनाका उच्च पदस्थ अधिकारी, देशका अन्य मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सचिव लगायतका खाता छन् ।
यस अतिरिक्त देशका ठूला व्यापारी, उच्च घरानाका व्यक्तिहरुको खाता समेत यो बैंकमा छ, जुन खाताका आधारमा विभिन्न जानकारी सुराकी हुन्छ । विशेषगरी नेपाली सेनासँग सम्बन्धित जानकारीहरु र तिनका विवरणहरु पन्जाव नेश्नल बैंकले सुराकी गर्ने गरेको छ । पन्जाव नेश्नल बैंकले आवश्यकता अनुसार आफ्ना ग्राहकहरुको खातामा रहेको आर्थिक कारोबार र तीनका व्यक्तिगत विवरणको गोपनियता नराख्ने समाचारमा दाबी गरिएको छ ।
नेपालका कुन नेताले कति रकमको कारोबार गरेको छ, कति पैसा कुन मितिमा बैंकमा राखेको छ, कति पैसा कुन मितिमा झिकेको छ, कति पैसा कसलाई दिएको छ, कुन नेताको कति पैसाको स्रोत के हो लगायत विभिन्न विवरणहरु भारतस्थित पन्जाव नेश्नल बैंकमार्फत भारतका गुप्तचरसम्म पुग्ने गरेको पनि समाचारमा दाबी छ । 
नेताले भारत आउँदा कति पैसा खर्च गर्यो, कति पैसा बैंकबाट झिक्यो, कति पैसा कसका नाममा खर्च गर्यो, भारत आएका बेला आफ्नो खातामा कुन स्रोतबाट आएको पैसा झिक्यो लगायतका विवरणहरु पनि खिच्ने गरेको बताइएको छ । एभेरेष्ट बैंकमा भारतीय दुतावासका उच्च अधिकारीहरुको समेत खाता रहेकाले नेपालमा दुतावास र नेपालका केही नेताबी आर्थिक कारोबार भएको तथ्य पनि पञ्जाव नेश्नल बैंकले भारतीय गुप्तचरहरुलाई दिने समाचारमा दाबी गरिएको छ ।
नेपालमा आन्तरिक राजश्व विभागले विभिन्न शीर्षकका कर तिर्न तोकेको विभिन्न बैंकहरुमध्ये एभेरेष्ट बैंक पनि एक हो । अन्य बैंकहरु सरकारी स्वामित्वका छन् भने एभेरेष्ट बैंक भारतीय बैंकको ‘जोइन्ट भेन्चर’ पार्टनर हो । एभेरेष्ट बैंकले देशका विभिन्न करदाता सेवा कार्यालयमा आफ्नै काउन्टर राखेर कर उठाउने गरेको छ । यसरी ठूला व्यापारीहरुले एभरेष्ट बैंकमार्फत सरकारलाई बुझाएको करको विवरण पनि भारतमा जाने गरेको रहस्य पत्रिकाले खोलेको छ ।
पत्रिकामा छापिएको समाचार र त्यसमा उठाइएका गम्भीर सवालहरुको बिषयमा पटक पटक प्रतिक्रिया लिन खोज्दा बैंकको सूचना अधिकृत एके वंशल सम्पर्कमा आउन चाहेनन् । बैंकको मार्केटिङ शाखामा काम गर्ने सन्दीप नामका एक व्यक्तिले यो विषयमा मार्केटिङ प्रमुख रञ्जन खड्कासँग सोध्न आग्रह गरे । खड्कासँग कुरा गर्न खोज्दा प्रतिक्रिया दिन नचाहेको कर्मचारीमार्फत बताए ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्