Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब उपत्यकाभित्र जिउँदो राँगा–भैंसी ल्याउन रोकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ ।
उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको हो ।

महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी भित्रिन निषेध हुने बताए ।  उनले भने, ‘उपत्यकाभित्र राँगा–भैँसी ल्याउने प्रक्रिया निषेध गर्ने काम सुरु भएको छ । यसका लागि उपत्यकाभित्रका मासु व्यवसायीसँग पनि छलफल भएको छ । अबको तीन वर्षभित्र उपत्यकामा जिउँदो राँगा–भैँसी ल्याउन बन्द हुनेछ ।’ 

महानगरपालिकाका अनुसार उपत्यकामा जिउँदो राँगा–भैँसीको सट्टा मासु नै आयात हुनेछ । मासु ताजा र स्वास्थ्यबद्र्धक हुनेछ । उपत्यकाबाहिरका वधशालाबाट उपत्यकामा ताजा मासु भित्रिनेछ । उपयुक्त तापक्रममा चिस्यान गरिएपछि उपत्यकामा मासु भित्रिनेछ । महाशाखा प्रमुख श्रेष्ठले भने, ‘जिउँदो राँगा–भैँसीको सट्टा ताजा मासु आउनेछ । आवश्यक तापक्रममा राखिएपछि मात्रै मासु उपत्यकामा आउनेछ ।

यसो हुँदा उपत्यकाभित्रका वधशाला स्वतस् हट्नेछन् ।’  महानगरपालिकाका अनुसार जिउँदो राँगा–भैँसीभन्दा मासु भित्र्याउनु आर्थिक रूपले सस्तो पर्न जान्छ । ‘एउटा राँगा तीन सय केजीको हुन्छ । त्यसबाट सय केजी मात्रै मासु निस्कन्छ । बाँकी हड्डी, छाला र फोहोर हुन् । ती खेर जाने पदार्थ हुन् । त्यसको सट्टा तीन सय केजी ताजा मासु ल्याउँदा आर्थिक रूपमा सस्तो पर्छ । यसले व्यापारीलाई पनि फाइदा पुग्छ,’ महाशाखा प्रमुख श्रेष्ठले भने । नयां  पत्रिका दैनिकमा  समाचार छ ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्