सत्तारुढ दल राप्रपा नेपालले नै भन्यो, बजेटलाई मात्र प्रचारमुखी ! ( वक्तव्य सहित)
यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
नेपाल सरकारबाट प्रस्तुत आ.ब. २०७३/०७४ को बजेट समग्रमा सकारात्मक रहेता पनि संस्थागत रुपमा पर्याप्त छलफल र परामर्शको अभाव रहँदा कतिपय कमि, कमजोरी र त्रुटिहरु रहेका छन् । पुँजी निर्माण भन्दा वितरणमुखी बजेटले धेरै महत्वपूर्ण विषयहरुलाई छाडेको छ ।
पछिल्लो समयमा ठूलो चुनौति र समस्याको रुपमा देखा परेको धर्म परिवर्तनको बिषयसँगै सनातन धर्मको रक्षाको निमित्त कुनै कार्यक्रम नआउनु दुःखद रहेको छ । महत्वपूर्ण धार्मिक क्षेत्रहरुको गुरुयोजना बनाउँदा देवघाट र स्वर्गद्धारी क्षेत्रलाई गुरुयोजनामा राखी अगाडी बढाउनु पर्दछ ।
विभिन्न व्यक्तिहरुको नाममा प्रस्तावित स्मृति प्रतिष्ठानहरुमा राष्ट्रको निमिक्त उल्लेखनिय योगदान दिनु हुने स्व। चन्द्रबहादुर गुरुङ्ग, मरिचमान श्रेष्ठ, सूर्यबहादुर थापा र पद्मसुन्दर लावतीको नाम समावेश हुनुपर्ने जोडदार माग गर्दछौं ।
स्थानीय निकायको निर्वाचन, गाविस अनुदान रकम र सामाजिक सुरक्षा भत्ता वृद्धिसँगै भुउपयोग नीति, सुकुम्बासी, हलिया र मुक्त कमैयाको समस्या समाधानलाई सकारात्मक रुपमा लिँदै सन्तोष व्यक्त गर्दछौं ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सवै माननीय साँसदहरुको भूमिका र सहभागिता समान हैसियतमा हुनुपर्ने पनि पार्टीको धारणा रहेको छ ।
राजाराम श्रेष्ठ
प्रवक्ता