क्रिकेटले ल्याएको नयाँ बहस
राधेश्याम दाहाल,
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि नेपाली खेल क्षेत्रमा एउटा नयाँ बहस प्रारम्भ भएको छ । किन प्रतिबन्धित भयो नेपाल क्रिकेट संघ र किन हुन्छ प्रतिबन्ध, अनि प्रतिबन्धको जिम्मेवार को ? खेलको हिसाबले प्रतिबन्धलाई राम्रो मान्न सकिन्न ।
तर नेपाली खेल क्षेत्रमा रहेको भद्रगोल, गुटबन्दी र अनावश्यक राजनीतिक हस्तक्षेपलाई हेर्ने हो भने यो प्रतिबन्धलाई राम्रो मान्न सकिन्छ । प्रतिबन्धलाई सुधारिने अवसर मान्नेहरूका लागि यो राम्रै कदम हो । नेपाली खेल संघहरूको गठन र संचालनमै समस्या छ । यसको निराकरण नभएसम्म खेलक्षेत्र अन्योलता र राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सक्दैन । नेपालको खेलसंघ गठनमै समस्या छ । त्यसैले प्रतिबन्ध लाग्नु पछाडिका कारणको खोजी आवश्यक छ ।
क्रिकेटकै विषयमा मात्र कुरा गर्ने हो भने नेपालमा अहिलेसम्म पनि क्रिकेट संघ तदर्थ वादमा नै चलेको छ । नेपालमा सबैभन्दा पुरानो खेलसंघ मध्येमा क्रिकेट पनि पर्दछ । तर यति लामो यात्रा तय गरिसक्दा पनि क्रिकेट सवैको खेल संघ बन्न सकेको छैन । विगतमा पञ्चायती शासकहरूले आफ्नो कब्जाभित्र खेलसंघ राख्नका लागि अपनाएको शैली आज गणतन्त्र आइसक्दा पनि जस्ताको त्यस्तै छ । नेपालका प्राय सबै खेल संघको निर्वाचन कथित् नै हुने गरेको छ ।
खेल संघहरूलाई गैरसरकारी गैरनाफामूलक संस्थाका रूपमा व्याख्या गरिएको छ । तर नेपालका खेल संघका पदाधिकारी कोही पनि घाटामा छैनन् । पदाधिकारी कसैले पनि आजका दिनसम्म आफ्नो व्यक्तिगत खर्चमा विदेश भ्रमण गरेको थाहा छैन । तत्कालीन राखेप सदस्यसचिव युवराज लामाको कार्यकालबाट क्रिकेट खेलमा गतिलो रोग सुरु भएको थियो । यसको अर्थ यसअघि क्रिकेटमा समस्या थिएन भन्ने मेरो आशय होइन । क्रिकेट खेलमा विगतमा पनि समस्य थिए । ती समस्या समाधान हुन सक्ने खालका थिए । तर अहिले क्रिकेटमा देखिएको समस्या कुनै पनि रुपमा समाधान हुने खालको छैन ।
दुई वटा क्रिकेट संघ आफुलाई वैधानिक सावित गर्न अदालत पुगेका छन् । एउटा क्रिकेट संघ सुसुप्त अवस्थामा बसेको छ । अर्को क्रिकेट संघ वर्तमान प्रधानमन्त्री केपी ओली र नेकपा एमालेको संरक्षणमा छ । सबैभन्दा महत्त्वपूर्ण विषय भनेको सबैखाले क्रिकेट संघहरू कुनै न कुनै रूपमा राजनीतिक दलको छत्र छायामा छन् । त्यसैले यहाँ उठाउन खोजिएको विषय के हो भने नेपालका राजनीतिक दलहरूले खेललाई बुझ्न नसक्दा र खेललाई प्राथमिकतामा राख्न नसक्दा यस्ता खाले समस्या आएको हो । कुन कारणले ज्वरो आयो भनेर खोजी गर्नुको सट्टा ज्वरोको औषधि खुवाउने नेपाली संस्कार खेल क्षेत्रमा पनि व्याप्त छ । अहिले क्रिकेटको प्रतिबन्ध प्रकरणले नेपाली खेल क्षेत्रलाई नै ज्वरो आएको छ । तर यो ज्वरोको कारण पहिल्याउनुको सट्टा प्रतिबन्ध फुकुवा मात्र गराउने र सामान्य उपचार गर्ने सोच पालियो भने त्यसले खेलको भलो गर्दैन ।
एक जना पूर्वखेलकुद मन्त्रीले सामाजिक सञ्जालमा क्रिकेटमा देखिएको समस्या समाधान गर्न बोर्ड आवश्यक भएको तर्क गरेछन् । तर विडम्वना उनी आफंै खेलकुदमन्त्री हुँदा भइरहेको एउटा संघलाई बेवास्ता गरेर अर्को क्रिकेट संघ बनाइएको थियो । जसका कारण पनि क्रिकेट खेल व्यापक विवादमा प¥यो । उनको कार्यकालमा खेल संघको समस्या समाधान गर्ने पहल भएको पाइएन । त्यसैले उनको भनाइलाई आधार मान्ने हो भने पनि बोर्ड गठन गरेर मात्र नेपाली खेल क्षेत्रको विवाद समाधान हुनेवाला छैन ।
सबैभन्दा महत्त्वपूर्ण विषय भनेको नियत नै हो । खेलको विषयमा नेपालका राजनीतिक दलहरूको नियत नै सकारात्मक छैन । राजनीतिक दलभित्र रहेर खेलमा हालीमुहाली गर्नेहरूको पनि नियत खराब नै छ । दलको आडमा खेलमा प्रवेश गरेर व्यक्तिगत अभिष्ट पूरा गर्ने सोच खेलसंघका आमपदाधिकारीमा छ । खेलसंघमार्फत प्राप्त हुने वैदेशिक सहयोग, वैदेशिक भ्रमण र अन्य सुविधाले उनीहरुलाई आकर्षित गरिरहेको छ । जसका लागि नियम र कानुनको खिल्ली उडाउन उनीहरू कहिल्यै पछि पर्दैनन् ।
क्रिकेट संघमा युवराज लामाको कार्यकालमा एमाओवादीको प्रवेशलाई पनि त्यही रूपमा लिन सकिन्छ । टंक आङबुहाङ अध्यक्ष बन्दा अन्य कुनै राजनीतिक दलले किन यस्तो व्यक्तिलाई संघको जिम्मेवारी दिएको भनेर प्रश्न गरेनन् । चिया पसलमा सामान्य गफ गर्ने विषय बन्यो तर संसद्मा छलफल नै गर्नुपर्ने विषय त्यो कहिल्यै बनेन । न्यायाधीश, आयुक्त वा प्रहरी प्रमुखको विषयमा मात्रै संसद्मा आवाज उठ्नुुपर्छ भन्ने मलाई लाग्दैन । आज देश प्रतिबन्धित हँदा क्रिकेटको विषयमा बोल्नेहरूले हिजो त्यस्ता व्यक्तिको हातमा जिम्मेवारी दिँदा किन बोलेनन् । यो प्रश्नको जवाफ आज उनीहरूले पनि दिनुपर्दछ । त्यसैले क्रिकेट खेल प्रतिबन्धित हुनुमा नेपालका राजनीतिक दल पनि उत्तिकै जिम्मेवार छन् ।