Logo
१५ बैशाख २०८१, शनिबार
(February 5, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा गर्भपतन गराउने नेपाली युवतीलाई जेल

काठमाडौं । मलेसियामा गर्भपतन गराएको अभियोगमा एक नेपाली युवतीलाई एक वर्ष जेल सजाय सुनाइएको छ । मलेसियाको पेनाङस्थित बुकिट मर्ताजम अदालतले २४ वर्षीया निर्मला थापालाई गर्भपतन गराएको अभियोगमा यस्तो सजाय सुनाएको हो ।

मलेसियामा यसरी जेल पर्ने निर्मला पहिलो महिला भएको द मलेसियन इन्साइडर अनलाइनले जनाएको छ । ६ हप्ताकी गर्भवती निर्मलाले पेनाङस्थित एक क्लिनिकमा गएर गत अक्टोबर ९ तारिखमा गर्भपतन गराएकी थिइन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अधिकारी त्यही बेला निरीक्षणका लागि उक्त क्लिनिकमा पुगेपछि निर्मला पक्राउ परेकी थिइन् ।

 पेनाङस्थित एक कारखानामा काम गर्दै आएकी निर्मलाविरुद्ध अवैध रुपमा गर्भपतन गराएको अभियोगमा अक्टोवर १३ मा अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले गर्भपतनमा उनलाई दोषी ठहर गर्दै जेलमा पठाएको हो । महिला अधिकार तथा स्वास्थ्य क्षेत्रमा वकालत गर्दै आएका स्थानीय संस्था तथा प्रवासी मजदुरले भने निर्मलालाई दिइएको सजायको विरोध गरेका छन् ।

प्रजनन् अधिकारबारे वकालत गर्ने संस्था रिप्रोडक्टिभ राइट एड्भोकेसी एलाइन्स मलेसिया ९ आरआरएएएम. का डा. चुङ सिम पोयले निर्मलामाथि भएको सजायलाई असामान्य भनेका छन् । उनले गर्भपतन गराउनुपर्ने बाध्यतामा रहेकी निर्मलालाई अन्य अपराधीको जस्तै व्यवहार गरिनु उचित नभएको पनि बताए ।

 निर्मलासँग अदालतमा कुनै वकिल नभएको र भाषा अनुवादक पनि नभएको डा। चुङले बताए । निर्मलालाई केदाहस्थित जेलमा राखिएको छ । मलेसियामा आमाको स्वास्थ्य जोखिममा परेमा भने सरकारी अधिकारीबाट अनुमति लिएर गर्भपतन गराउन पाउने अधिकार छ । अन्यथा मलेसियामा गर्भपतन गराउन पाइँदैन ।

प्रकाशित मिति: Feb 5, 2015

प्रतिक्रिया दिनुहोस्