Logo
१९ बैशाख २०८१, बुधबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! एकोहोरो टिभी हेर्नाले हुन्छ हृदय रोगको सम्भावना

प्रायः हामी सबैको बानी नै हुन्छ मस्तले सोफा वा ओछ्यानमा बसेर टिभी हेर्ने । आफ्नो परिवारसँग बसेर टिभी हेर्नुको मज्जा नै बेग्लै हुन्छ । तर यसरी लगातार एकोहोरो टिभी हेर्न नहुने एउटा अनुसन्धानले जनाएको छ ।

अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीले हालै गरेको एक अनुसन्धानले टेलिभिजन हेर्दा आरामसँग बस्नेलाई हृदय रोगको जोखिम हुने जबकि, टीभी हेर्दाहेर्दै स-साना व्यायाम गर्नेलाई यस्तो जोखिम कम हुने बताइएको छ ।

टीभी प्रायः कोठामा बसेर हेरिन्छ । आरामसँग सोफामा वा ओछ्यानमा बसेर ४ घण्टाभन्दा बढी टीभी हेर्नेलाई हृदय रोगको सम्भावना अधिक भएको अध्ययनले पत्ता लगाएको छ । टीभी हेर्दा पनि स–साना (सरल) वा कठोर (हेभी) एक्सरसाइज गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

यसकारण पनि मुटुलाई स्वस्थ राख्नका लागि सातामा कम्तीमा १५० मिनेट व्यायाम गर्नु जरुरी छ । व्यायाम भन्नासाथ हेभी एक्सरसाइजमात्र हैन स-साना वा सरल व्यायामले पनि शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।

विशेष गरेर गृहिणी महिलामा लामो समय टीभी हेर्ने आदत हुन सक्छ । घरको काम सकेर समय बिताउनकै लागि टीभीमा आश्रित हुने धेरै मानिस छन् । टीभी हेर्दा समयसमयमा उठ्ने, हातखुट्टा तन्काउने वा हिँड्ने काम गर्नुपर्छ ।

हामीमध्ये कतिपय मानिस कामका क्रममा लामो समय कुर्सीमा बस्छौं, यो पनि हानिकारक नै हो । तर योभन्दा पनि हानिकारका काम भनेको घण्टौंसम्म आरामदायी ढङ्गमा बसेर टीभी हेर्नु रहेको छ ।

व्यायामले हृदय रोग ४५ प्रतिशत कम गर्छ

अमेरिकन हार्ट इन्स्टिच्युटका अनुसार प्रत्येक व्यक्तिले दिनहुँ कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ । नियमित व्यायाम गर्ने मानिसमा हृदय रोगको आशङ्का अन्यको तुलनामा ४५ प्रतिशत कम हुन्छ ।

व्यायामले कोलेस्ट्रोल र लिपिडको स्तरमा समेत सुधार ल्याइदिन्छ । ब्याड कोलेस्ट्रोल अर्थात् एलडीएलको स्तरलाई कम गरिदिन्छ । गुड कोलेस्ट्रोल अर्थात् एचडीएलको स्तर सुधार्न भने कडा व्यायाम आवश्यक पर्छ ।

दिनहुँ ३० देखि ४० मिनेट साइकल चलाउनेमा पनि हृदय रोगको सम्भावना कम हुन्छ । साइकल चलाउनाले स्वासप्रस्वासको गति तीव्र हुन्छ, जुन मुटुका लागि फाइदाजनक हुन्छ । कार्डियोमा दौडनु, जगिङ गर्नु, पौडी खेल्नुजस्ता गतिविधिले पनि मुटु बलियो बनाउँछ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्