Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा मिडिया काउन्सिल विधेयक दर्ता : तुरुन्त फिर्ता लिन पत्रकार महासङ्घको माग

सरकारले मिडिया काउन्सिल गठन गर्ने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरेपछि नेपाली सञ्चार क्षेत्रमा विभिन्न तर्कवितर्क उठन थालेका छन् ।

केही सञ्चारकर्मीले उक्त विधेयक तुरुन्त फिर्ता गर्नुपर्ने माग गरेका छन् भने केही सञ्चारकर्मीले उक्त विधेयक सञ्चारकर्मीको घाँटी निमोठ्ने हिसाबले नआएको र आन्दोलनमा जानु नै पर्ने अवस्था अहिले सिर्जना नभएको विचार व्यक्त गरेका छन् ।

उनीहरुले केही समस्या भए सञ्चारमन्त्रीसँग कुरा राखेर छलफल गरी समाधान गर्न सकिने राय व्यक्त गरेका छन् । व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएकाले पनि सञ्चार क्षेत्रमा नियमन तथा अनुशासन कायम गर्न यस्तो विधेयक ल्याएको उनीहरुको धारणा छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक तुरुन्त फिर्ता लिन माग गर्नुभयो ।

उहाँले रु १० लाखसम्म जरिवाना तथा १५ वर्षसम्म कैद गर्ने प्रावधानले सञ्चार क्षेत्र आतङ्कित भएको बताउँदै महासङ्घले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको बताउनुभयो ।

जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुर्मुले मिडिया काउन्सिल विधेयक पत्रकारको हितविपरीत आएकाले फिर्ता गर्न माग गर्नुभयो ।

नेपाल प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहालले विधेयकमा सरकारले प्रेसको घाँटी निमोठ्ने उद्देश्य राखेको भन्ने आफूलाई विश्वास नलागेको बताउँदै प्रेस स्वतन्त्रताको उपभोग गर्ने पत्रकारले आफू पनि स्वनियममा बस्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

उहाँले ठूला मिडियामा पूँजी अपारदर्शी भएकाले त्यसलाई पारदर्शी बनाउन पनि बिगहाउसको अनुगमन तथा नियमन आवश्यक भएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सञ्चार क्षेत्रलाई अंकुश लगाउने मनसायका साथ सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउँदै त्यसका विरुद्ध गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सङ्गठित अपराध तथा राजद्रोहको मुद्दा लगाउन सक्ने गरी गरेको प्रावधान भएकाले यो विधेयक खारेज गर्नुपर्ने बताउनुभयो ।

 

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्