Logo
१५ बैशाख २०८१, शनिबार
(January 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महतोमाथि सामुदायिक दुर्व्यवहार गर्नेलाई कारबाही गर्न चौतर्फी माग

सञ्चार सम्बद्ध विभिन्न संघ-संगठनहरुले पत्रकार राजकरण महतोसँग समुदायिक दुर्व्यवहार गरेको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

मधेश प्रदेश स्थित महोत्तरीको बर्दिवास नगरपालिका १२ विजलपुरा घर भई हाल काठमाडौं स्थित अन्नपूर्णपोष्ट दैनिक पत्रिकामा कार्यरत्त पत्रकार महतोसँग भएको दुर्व्यवहारको घटना तीन दिन बितिसक्दा पनि दोषिलाई कारबाही हुन नसकेको भन्दै विभिन्न संघसंगठनहरुले आपत्ति जनाएका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव रौशन पुरीले साम्प्रदायिक विभेदपूर्ण गाली गलौज गर्ने बसका सह-चालक र चालकलाई अविलम्ब कारबाहीको गरेका छन् ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सचिव समेत रहेका पत्रकार महतोलाई आइतबार सडक किनारमा हिँडिरहेको समयमा समुदायिक दुर्व्यवहार भएको थियो ।

सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) बा.२ ख ४५३४ नम्बरको गाडीका कन्डक्टर र चालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट र्दुव्यवहार गर्नुका साथै कुटपिटको प्रयास समेत गरेका थिए ।

महासंघ केन्द्रिय समितिका महासचिव पुरिले मंगलबार विज्ञप्ती प्रकाशित गरि दोेषिलाई पक्राउ गरि आवश्यक कारवाही गर्नु पर्ने माग गरेका हुन् ।

“महासंघ हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गर्दछ । साथै, महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ,” महासचिव पुरीले प्रकाशित गरेका विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार महतोले दोषीलाई अविलम्ब पक्राउ गरेर कानुनी दायरमा ल्याई न्याय दिलाउन सरोकारवाला निकायहरुसँग अनुरोध गरेका छन् ।

पत्रकार महतोले मधेसी आयोगमा पनि उजुरी दायर गरेका छन् । यसैबीच संघीय राजधानी काठमाडौंमा भएको दुव्र्ययवहार भेद्भावजन्य घटनाविरुद्ध महोत्तरीको बर्दिवासमा विरोध प्रदर्शन समेत गरिएको छ ।

घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन पत्रकार, साहित्यकार, कलाकारसहित स्थानीय युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

बर्दिवासस्थित सिन्धुली रोडमा साम्प्रदायिक सद्भाव विथोल्न खोज्नेलाई कानूनी कारबाही गर, पत्रकार राजकरण महतोमाथि भेद्भावजन्य दुव्र्यवहार गर्नेलाई पक्राउ गर लगायतका नारा लगाएका थिए ।

त्यस्तै  रंग र पहिरनको आधारमा गरिने विभेद अन्त्य गर, बहुजातीय पहिचानको रक्षा गर सहितका नाराहरु उल्लेखित प्लेकार्ड बोकेर सांकेतिक विरोध गरिएको थियो ।

घटना सम्बन्धमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, मधेसी पत्रकार समाज, जिल्लास्थित नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल बर्दिवास नगर पत्रकार सञ्जाल, तराई मधेस सांस्कृतिक अनुसन्धान प्रतिष्ठान बर्दिवास, गौशाला नगर पत्रकार सञ्जालसहितका पत्रकारसम्बद संघसंस्थाहरुले छुटाछुटै प्रेस विज्ञप्ती निकालेर घटनाको घोर भत्सना गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रकाशित मिति: Jan 23, 2024

प्रतिक्रिया दिनुहोस्