Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन रिलिज हुन सकेन नेपालमा बलिउड फिल्म ‘कलंक’ !

काठमाडौं : आजदेखि विश्वका धेरै देशमा एकसाथ रिलिज भएको बलिउड फिल्म ‘कलंक’ नेपालमा भने रिलिज हुन सकेन । चलचित्र विकास बोर्डका कारण यो फिल्म नेपालमा रिलिज हुन नसकेको हो ।

शुक्रबार मात्र नयाँ फिल्म रिलिज हुने परिपाटीलाई जोगाउन विकास बोर्डले यो फिल्म रोकेको हो ।

नेपालमा नयाँ फिल्म चाडपर्व बाहेकको समय शुक्रबार मात्र रिलिज गर्न पाइन्छ । अन्य समय आउने फिल्मलाई आफूले रोक्ने केही अगाडि अध्यक्ष केशव भट्टराईले भनेका थिए । सोही अनुरुप फिल्म ‘कलंक’ आज रोकिएको छ ।

अभिषेक वर्माको निर्देशन रहेको यो फिल्ममा २० वर्षपछि माधुरी दीक्षित र सञ्जय दत्तले स्क्रिन शेयर गरेका छन् । यी दुबैको अलवा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको पनि फिल्ममा अभिनय छ । मल्टिस्टार अभिनित यो फिल्मको पर्खाइमा ठूलो संख्यामा नेपाली दर्शक पनि रहेका थिए ।

‘कलंक’ नेपाल आउँदा गत शुक्रवार रिलिज भएका दुई नेपाली फिल्म ’यात्रा’ र ‘ए मेरो हजुर ३’को व्यापारमा ठूलो असर गर्ने पक्का थियो । नेपाली फिल्म जोगाउन ‘कलंक’ बुधवार प्रदर्शनमा रोक्नु पर्ने माग यी फिल्मका निर्माताले गर्दै आएका थिए । गत शुक्रबारबाट रिलिज भएका मध्य ‘यात्रा’ बोर्ड अध्यक्ष भट्टराइले निर्माण गरेको फिल्म हो । आफ्नो फिल्मको व्यवसायलाई असर गर्छ भनेर बलिउड फिल्म ‘कलंक’ रिलिज रोकेको आरोप समेत उनीमाथि लागेको छ ।

नेपाली फिल्म झै बलिउड फिल्म पनि शुक्रबार नै रिलिज गर्ने परम्परा बसाल्न ‘कलंक’ माथि आफूले रोक लगाएको बोर्ड अध्यक्ष भट्टराइले बताए । ‘नेपालमा चाडपर्व बाहेका अन्य समय शुक्रबार फिल्म रिलिजको परम्परा छ’ उनले भने ‘नेपाली फिल्मले यो परम्परा मान्ने, बलिउडले किन नमान्ने रु’ उनको भनाई छ ।

‘कलंक’ विकास बोर्डको एकल पहलमा मात्र रोकिएको होइन । यो फिल्मको बुधबार रिलिज रोक लगाउनु पर्ने माग सहित चलचित्र निर्माता संघले केही पहिले एक पत्र बोर्डलाई पठाएको थियो । निर्माताको गुनासोलाई सुनवाई गर्दै बोर्डले पनि नेपाल चलचित्र संघलाई पत्रमार्फत् विदेशी फिल्म शुक्रवार मात्र प्रदर्शनमा ल्याउन निर्देशन दिएपछि ‘कलंक’ बुधवार नेपाल प्रदर्शनमा रोक लागेको हो ।

प्रकाशित मिति: Apr 17, 2019

प्रतिक्रिया दिनुहोस्