Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१९ वर्षीय युवक, २२ वर्यीया युवती र ५० वर्षीय पुरुषले गरे स्थायी बन्ध्याकरण

डोटी : नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाहरुको समन्वयमा नेपाल परिवार नियोजन संघ डोटी शाखाले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला रहेका छन् । यो संख्या सेवा लिने कुल संख्याको ७७ प्रतिश हुन आउँछ ।

प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । यस गाउँपालिकामा जम्मा ६० ले उक्त सेवा लिएका थिए । यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, के आई सिंह गाउँपालिकामा ११ मध्ये ९ महिला र शिखर नगरपालिकामा १० मध्ये ६ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् ।

स्थायी बन्ध्याकरण सुविधा लिनेहरुमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायलमा १७ मध्ये १२ महिला र बडीकेदारमा २५ मध्ये १७ महिला रहेका छन् । बोगटान गाउँपालिकामा भने पुरुषको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये ९ पुरुष रहेका छन् ।

‘हामीलाई थाह छ, पुरुषहरुले बन्ध्याकरण गरे धेरै कमजोर हुन्छन्,’ छिमेकीको उदाहरण दिँदै एक महिलाले भनिन्, ‘उहाँ पहिले धेरै बलियो हुनुहुन्थ्यो तर अचेल केही काम गर्न थाले कम्मर दुख्यो भन्नुहुन्छ ।’ उनले श्रीमान्ले भन्दा आफैले बन्ध्याकरण गर्नु उपयुक्त लागेको वताईन ।

पुरुषहरुले बन्ध्याकरण गरे शारीरिक रुपमा कमजोर हुने भन्दै महिलाहरुले आफ्ना श्रीमान्लाई बन्ध्याकरण गर्न नदिने गरेको बताउँछन् नेपाल परिवार नियोजन संघ डोटी शाखा प्रवन्धक चेतराज फुलारा । ‘महिलाहरु कामका लागि बाहिर जानु पर्ने भएकाले कमजोरी हुन्छन् भन्ने मान्यता राखेको पाइयो, जति सम्झाएपनि मान्दैनन् ,’ उनले भने ।

पुरुषहरुले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलाहरुमा परेको र यसले गर्दा पनि उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको फुलाराले बताए । श्रीमतीले मात्रै नभएर अन्य आफन्त महिलाहरुले पनि पुरुषलाई बन्ध्याकरण गर्नबाट रोक लगाउने गरेको पाइएको फुलाराको बुझाइ छ ।

बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने बताउँछन् डा.अवस्थी । उनी भन्छन्, ‘महिलाहरुभन्दा पुरुषहरुलाई स्थायी बन्ध्याकरण गर्न सजिलो हुन्छ, पुरुषहरुमा जोखिम पनि कम हुन्छ ।’ उनले सामान्य ढाड दुख्ने समस्या हुन सक्ने तर अन्य कुनै समस्या नहुने बताए ।महिलाहरु श्रीमान्माथि निर्भर भएका कारण उनीहरुले श्रीमान्लाई केही भइहाल्छ कि भनेर डर मान्ने गरेको डा. अवस्थीको बुझाइ छ ।

१९ वर्षीय युवक र २२ वर्यीया युवतीले गरे बन्ध्याकरण

शिविरमा १९ वर्षीय एक युवकले पनि बन्ध्याकरण सेवा लिएका छन् । एक छोरा र एक छोरीका बुवा उनले पारिवारिक सल्लाह अनुसारै आफूले स्थायी बन्ध्याकरण गर्न लागेको बताए । शारीरिक रुपमा अशक्त उनले भने, ‘मेरो आर्थिक अवस्था पनि कमजोर छ । उनले दुई सन्तान भइसके अब अर्को सन्तान जन्मे थप आर्थिक समस्या हुने भन्दै स्थायी बन्ध्याकरण रोजें ।’

यस्तै ५० वर्षीय पुरुषले पनि स्थायी बन्ध्याकरण गराएका छन् । चार छोरा चार छोरी गरी ८ सन्तानका बुवा उनी भन्छन्, ‘थप सन्तान हुने डरले बन्ध्याकरण गराउँदैछु ।’ बन्ध्याकरण सेवा लिनेहरुमा २२ वर्षीया महिलादेखि एउटा मात्र सन्तानका बुवासम्म रहेका छन् ।

 

 

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्