Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदुरपश्चिम प्रदेशको १ वर्षमा : मुख्यमन्त्रीको प्रतिवद्धता सस्तो लोकप्रियताको उदाहरण

काठमाण्डौ : २०७४ साल फागुन ३ गते आजकै दिन सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका तत्कालीन माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसंगै सुदूरपश्चिमवासीमा आष पलाएको थियो । अव सुदुरपश्चिमको रुपरेखा नै परिवर्तन हुन्छ भनेर । तर आज मुख्यमन्त्री भट्ट नियुक्त भएको एक बर्ष पुगेसंगै फर्केर हेर्दा मुख्यमन्त्रीले गरेका राम्रा कामहरुको सम्झना समेत धेरै कम आईरहेको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएसंगै नेता त्रिलोचन भट्टले सुदुरपश्चिम प्रदेशका जनताले भारतमा चौकीदारी गर्न जाननपर्ने प्रदेश बनाउने अठोट व्यक्त गरे । उनको मुख्यमन्त्री भएपछिको पहिलो भनाई प्रदेशभरी मात्रै होईन देशभरी नै भाईरल पनि बन्यो । तर सुदूरपश्चिमवासीले रोजगारीका लागि विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्ने उनको अठोट झुठो सावित भएको छ । एक बर्षमै रोजगारीका लागि विदेशीनु पर्ने बाध्यताको अन्त्य हुने सम्भावना नभएपनि त्यस्का लागि प्रदेश सरकारले सुरुवात भने गर्न सक्ने थियो । तर प्रदेश सरकार गठन भएको एक बर्षमा स्वदेशमै रोजगारीका लागि सम्भावना खोज्ने प्रयास पनि भएको छैन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले आफुले संघीयताको जग बसाल्ने, कानुन निर्माण गर्ने प्रतिबद्धता गरेका थिए तर त्यो पनि लागु भएन । मुख्यमन्त्री भट्ट र डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र खड्का कुराकानीको अडियो भाईरल भयो । प्रदेश राजधानीको विषयले माहोल तातेको बेला डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खड्काले मुख्यमन्त्रीसंग आक्रोसपूर्ण तरिकारले कुरकानी गरेका थिए ।

भलै मुख्यमन्त्रीको पदीय मानयता अनुसार कुराकानी गरे होलान वा नहोला तर आफैँले जिताएका जनप्रतिनिधसंग सवालजवाफ गर्न पाउने अधिकार सर्वसाधारणलाई पनि हुन्छ। तर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सोही विषयमा आफ्नो गम्भीर ध्यानाकार्षण भएको भन्दै विज्ञप्ती नै निकाल्यो । जुन बिषयले व्यापक चर्चा पायो । मुख्यमन्त्री त्रिलोच भट्टले सस्तो लोकप्रियताको प्रयास गरेको आरोप पनि लाग्यो ।

धनगढीको एक सरकारी विद्यालयमा आफ्नो छोरीलाई भर्ना गर्न पुगेको खबर सर्वत्र छाएको थियो । धेरैले सरकारी विद्यालयमा छोरीलाई पढाउने मुख्यमन्त्रीको निर्णयको तारिफ गरे । तर छोरालाई बोर्डिङ्ग स्कूलमा पढाएको आरोप लागेपछि उनी फेरि आलोचित बने । यता मुख्यमन्त्री भट्टले हेलो सिएम कार्यक्रम सञ्चालन गर्दै लोकप्रियता कमाउने प्रयास गरे। तर उक्त कार्यक्रम एक बर्ष पनि टिक्न सकेन्। हेलो सिएम कार्यक्रममा आउने गुनासो संवोधन हुने प्रतिशत निकै न्यून भयो र प्रदेशवासीले उक्त कार्यक्रमलाई पत्याएनन् । पछिल्लो समय त हेलो सिएम कार्यक्रमको कक्षमा टेलीफोन समेत नरहेको तथ्य सार्वजनिक भयो ।

यस्तै रेड कार्पेट र अनुहार ढाकेको मालालगाएको विषयले पनि चर्चा पायो । दार्चुलालाई खुला दिसा मुक्त जिल्ला घोषणा गर्ने क्रममा प्रमुख अतिथि बनेका मुख्यमन्त्री भट्ट आयोजकले बिच्छ्याएको रातो कार्पेटमा हिँडेपछि उनको आलोचना बढ्यो । भारतमा मजदुरी गर्दै मुख्यमन्त्री सम्मको यात्रा तय गरेकाले उनि रातो कार्पेटमा हिँडेको भन्दै सामाजिक सन्जालमा आलोचना बढ्यो । मुख्यमन्त्रीलाई विवादमा ल्याउने अर्को खवर थियो, अनुहार नै ढाकिने माला ।

मुख्यमन्त्री भट्टले नियुक्त भएको केहि दिनमै सेती अञ्चल अस्पतालको अनुगमन गरे र सुधारको आश्वास समेत दिए । भएकै दरबन्दीका चिकित्सक नपाएको सेती अस्पतालले स्तरोन्नतीको पर्खाईमा बसेकोे पनि साढे तीन दशक भईसक्यो। प्रदेशकै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालको सुधार भए प्रदेशकै स्वास्थ्य सेवा प्रभावकारी बन्ने धेरेमा आशा थियो । तर अनुगमनपछि न सरकारले सुधारका लागि प्रयास ग¥यो न त अस्पताल स्वयमले मुख्यमन्त्रीको निर्देशन मान्यो ।

हुन त त्रिलोचन भट्ट नेकपाबाट विजयी भएर नै मुख्यमन्त्री भएका हुन्। तर मुख्यमन्त्री भईसकेपछि पार्टी भन्दा सुदूरपश्चिमका जनता अगाडी हुनुपर्ने हो। तर मुख्यमन्त्री भट्ट नेकपाका राष्ट्रिय राजनीतिमा दख्खल राख्ने २, ३ जना नेताहरुको समक्ष निरिह भएको आरोप अहिले धेरै प्रदेशवासीले लगाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यकाल सम्हालेको केहि दिनमै बोलेको अर्को कुरा हो, ७ नम्वर प्रदेशलाई नम्वर १ बनाउछु। १ नम्वर बनाउनका लागि मुख्यमन्त्रीसंग अझैँ बढिमा ४ बर्षको समय बाँकी छ । तर यहि परिपाटी र यस्तै गतिले सुदूरपश्चिम प्रदेश १ नम्वर हुने सम्भावना न्युन रहेको सुदुपश्चिवासीको भनाइ छ ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्