Logo
२६ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधित विधानको मस्यौदाबारे सहमति जुटाउन काँग्रेसमा अन्तिम प्रयास

काठमाडौँ : मुलतः संशोधित विधानको मस्यौदाबारे सहमति जुटाउन नेपाली काँग्रेसमा एक पटक फेरि अन्तिम प्रयास थालिएको छ । महासमिति बैठक अघि संशोधित विधान मस्यौदा, राजनीतिक प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमा सहमति खोज्न काँग्रेसले आज केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज दिउँसो बस्ने बैठकमा विभिन्न मस्यौदा र प्रस्तावहरुमा सहमति जुटाउन अन्तिम प्रयास गरिने नेताहरुले बताएका छन् । ‘अनौपचारिक रुपमा हिजोअस्ति पनि छलफल भए तर, सहमति भइनसकेकाले यसै हुन्छ भन्न सकिन्न । तर आज त्यही विषयमा छलफल गर्न बैठक बोलाइएको छ सम्भवत आज टुङगो लाग्ला’ काँग्रेस नेता डा. मिनेन्द्र रिजालले बताए ।

उनका अनुसार सहमति नजुटे विकल्पसहितको प्रस्ताव महासमिति बैठकमा छलफलका लागि लगिने छ । प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिम समयसम्म पनि सहमति र अनुमोदनका लागि केन्द्रीय समितिले प्रयास गर्ने बताए । काँग्रेसको विधान प्रस्तावित विधान मस्यौदामा केन्द्रीय समिति बढाउने तर पदाधिकारी संख्या नबढाउने प्रस्ताव गरिएको छ ।

नयाँ विधानको मस्यौदामा केन्द्रीय समिति १ सय ४१ सदस्यीय बनाउन प्रस्ताव भएपनि पदाधिकारी भने ६ जना कायम हुनुपर्ने उल्लेख छ । यसमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले असहमति जनाउँदै केन्द्रीय समितिको अनुपातमा पदाधिकारी पनि ११ सदस्यीय बनाउनुपर्ने बताउदै आएको छ । विधान मस्यौदामाथि गत शनिवार नै छलफल सकिएपनि सुझावलाई एकीकृत गर्ने बिषयमा नेताहरुबीच सहमति हुन नसकेपछि विधान मस्यौदा अनुमोदन हुन सकेको छैन ।

२ सातादेखि जारी केन्द्रीय समिति बैठक समेत फरक-फरक खेमामा विभाजित भएपछि काँग्रेसलाई यो विषय टाउको दुखाइ बनेको हो ।विधानमा उल्लेख पार्टी सदस्यता, पदाधिकारीको संख्या थप र निर्वाचन प्रक्रिया, संसदीय समिति चयन लगायतमा सहमतिका लागि ३ दिनयता नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

महासमिति बैठकमा पेस हुने आर्थिक प्रस्ताव बाहेक अन्य कुनै एजेण्डा केन्द्रीय समितिबाट अनुमोदन भएको छैन । यसैबीच बुधबार नेताहरुसँगको अनौपचारिक छलफलमा महामन्त्री डा. शशांक कोइरालाले पदाधिकारी संख्या थप्दै सभापति समेत २ जना राख्नुपर्ने नयाँ प्रस्ताव अघि सारेपछि थप अन्यौल भएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्