Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका मधेशी समुदायले आज ‘चौरचन पर्व’ मनाउँदै

देशभरका मधेशी समुदायले आज चौठीचाँद अर्थात् चौरचन पर्व श्रद्धापूर्वक मनाइँदै छ । हरेक परिवारबाट एक महिलाले दिनभर निराहार रही साँझ चन्द्रमालाई विविध पकवानका साथ फल एवं दही अर्पण गर्ने परम्परा छ । चौरचनको व्रत र पूजा गर्ने पुरुष एवम् स्त्री धनवान् एवम् पुत्रवान् हुनुका साथै प्रशन्नचित्त हुने गरेको पनि पुराणमा उल्लेख छ।

चन्द्रमा पूजाको रुपमा प्रचलित यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको विश्वास छ। स्कन्द पुराणका अनुसार भगवान् कृष्णमाथि लोभ वंशमित्रको हत्या गरेको आरोप लागेको थियो । पछि उनी चिन्तित भएको अवस्थामा नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरे । पूजा गर्दा उनीमाथि लागेको कलङ्कबाट मुक्त भएका थिए। त्यही दिनदेखि यो पर्वको सुरुवात भएको मानिन्छ ।

चौरचन पर्व आँगनमा गरिन्छ, बिहानै लिपपोत गरी घर आँगन पवित्र बनाइन्छ । साँझपख आँगन लिपपोत गरेको ठाउँमा दहीको मटकुरी, फलफूल, खिर, पुरी, केरा मिष्ठानका साथै धूप, फूल चन्दन आदि सजाइन्छ ।

यसमा घरका पुरुष सदस्य बराबर दहीको मटकुरी र स्त्री सदस्य बराबर फलफूलको डाली राख्ने गरिन्छ । पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिई चन्द्र दर्शन गर्छन् भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरू पालैपालो उठाई अर्घ दिन्छिन् । अर्घपछि परिवारका पुरुष सदस्य पूजामा राखिएको प्रसाद ग्रहण गर्छन् त्यसपछि परिवारका अन्य सदस्यले खानपान गर्ने चलन छ ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्