Logo
६ चैत्र २०८०, मंगलबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं. १ : लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचनमा प्रदेश नं. १ का सात जिल्लामा वाम गठबन्धन बलियो देखिएको छ । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा प्रदेश नं. १ का सात जिल्लाको सम्पूर्ण स्थानमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो देखिएको हो ।

वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरे भावर, जनजागरण पार्टी नेपाल र समाजवादी जनता पार्टी रहेका छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल छन् । स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा प्रदेश नं. १ का सात जिल्लाको सम्पूर्ण स्थानमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो देखिएको छ ।

मंसिर १० गते प्रदेश नं. १ का ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । सात जिल्लाबाट ७ जना प्रतिनिधिसभा र १४ जना प्रदेशसभाका लागि निर्वाचित हुनेछन् । यी जिल्ला प्रत्येकबाट एकजना प्रतिनिधिसभा र दुई जना प्रदेशसभाका लागि निर्वाचित हुनेछन् । ताप्लेजुङमा ८ गाउँपालिका र एउटा नगरपालिका छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा ताप्लेजुङका सबै गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखका लागि कुल ५३ हजार ५ सय ९२ भोट खसेको थियो ।

यसमध्ये वाम गठबन्धनले २८ हजार ९ सय ९७ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले २३ हजार ३ सय ८८ मत । वाम र लोकतान्त्रिक गठबन्धनमा नरहेका अन्य दलले एक हजार २ सय ७ मत प्राप्त गरेका थिए । ताप्लेजुङका ८ गाउँपालिकामध्ये एमालेले चार र कांग्रेसले चारवटामा जितेका थिए । एकमात्र नगरपालिकाको प्रमुख एमालेले जितेको थियो । ताप्लेजुङबाट प्रदेशसभाका लागि दुई जना निर्वाचिन हुनेछन् । प्रदेशसभा (क) मा एउटा नगरपालिका र तीनवटा गाउँपालिका छन् ।

स्थानीय निर्वाचनमा यीमध्ये दई गाउँपालिकामा कांग्रेस, एक गाउँपालिका र एक नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका थिए । ताप्लेजुङ प्रदेशसभा (क) मा पर्ने स्थानीय तहमा वाम गठबन्धनले कुल १६ हजार ८ सय १० मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १४ हजार ३ सय ९३ मत पाएको थियो । ताप्लेजुङ प्रदेशसभा (ख) मा पाँच गाउँपालिका छन् । स्थानीय निर्वाचनमा यीमध्ये तीन गाउँपालिकामा एमाले र दुई गाउँपालिकामा कांग्रेसका अध्यक्ष उम्मेदवार विजयी भएका थिए ।

स्थानिय निर्वाचनमा ताप्लेजुङ प्रदेशसभा ‘ख’ मा खसेको मतमध्ये वाम गठबन्धनले १२ हजार १ सय ८७ र लोकतान्त्रिक गठबन्धनले ८ हजार ९ सय ९५ मत प्राप्त गरेका थिए । सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथरमा स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखलाई गरी कुल ७२ हजार १ सय ६६ मत खसेको थियो । प्रतिनिधिसभाका लागि एकमात्र सिट रहेको पाँचथरमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले ४० हजार ४ सय १८ मत र लोकतान्त्रिक गठबन्धनले ३० हजार ४ सय ८३ मत प्राप्त गरेका थिए । अन्य दलले एक हजार २ सय ६५ मत प्राप्त गरेका थिए ।

पाँचथरमा रहेका ७ गाउँपालिकामध्ये स्थानीय निर्वाचनमा तीनवटामा कांग्रेस, तीनवटामा एमाले र एउटामा माओवादीले जितेका थिए । एकमात्र नगरपालिका कांग्रेसले जितेको थियो । पाँचथर प्रदेशसभा (क) मा एक नगरपालिका र तीन गाउँपालिका छन्, जसमध्ये दुई गाउँपालिकामा एमाले र एक नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । प्रदेशसभा (क) मा रहेको एकमात्र नगरपालिकामा कांग्रेस विजयी बनेको थियो ।

प्रदेशसभा (क) मा स्थानीय निर्वाचनमा झरेको कुल मतमध्ये २३ हजार ६ सय २० वाम गठबन्धन र १८ हजार ५ सय ८६ मत लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेका थिए । पाँचथर प्रदेशसभा (ख) चार गाउँपालिका छन् । यीमध्ये स्थानीय निर्वाचनमा दुईवटामा कांग्रेस, एकएक वटामा एमाले र माओवादीका उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनमा पाँचथर प्रदेशसभा (ख) मा वाम गठबन्धनले १६ हजार ७ सय ९८ र लोकतान्त्रिक गठबन्धनले ११ हजार ८ सय ९७ मत प्राप्त गरेका थिए।

त्यस्तै संखुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका छन् । त्यहाँ स्थानिय निर्वाचनमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि ६४ हजार २ सय ४९ मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनले ३३ हजार ७ सय १६ र लोकतान्त्रिक गठबन्धनले २९ हजार १ सय १ मत प्राप्त गरेका थिए । अन्य दलले१ हजार ४ सय ३२ मत प्राप्त गरेका थिए । तिनिधिसभाको एकमात्र सिट रहेको संखुवासभामा रहेका पाँच नगरपालिकामध्ये स्थानिय निर्वाचनमा एमालेले ३ वटा र कांग्रेसले २ वटामा जितेका थिए ।

यस्तै, पाँच गाउँपालिकामा एमालेले दुई र कांग्रेसले तीनवटामा जितेका थिए । संखुवासभा प्रदेशसभा ‘क’ मा एक नगरपालिका र पाँच गाउँपालिका छन् । स्थानीय निर्वाचनमा एक नगरपालिका र दुई गाउँपालिकामा एमाले, तीन गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी बनेका थिए । ताप्लेजुङ प्रदेशसभा (क) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४ सय २ र लोकतान्त्रिक गठबन्धनले १३ हजार ५ सय ५३ मत प्राप्त गरेको देखिन्छ । संखुवासभा प्रदेशसभा (ख) मा चार नगरपालिका छन् ।

स्थानीय निर्वाचनमा एमाले र कांग्रेसले दुईदुई नगरपालिकामा जित हात पारेका थिए । संखुवासभा (ख) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १७ हजार ३ सय १४ र लोकतान्त्रिक गठबन्धनले १५ हजार ५ सय ४८ मत प्राप्त गरेका थिए । एक नगरपालिका र ७ गाउँपालिका रहेको सोलुखुम्बुमा पनि वाम गठबन्धन मजबुत देखिन्छ । प्रतिनिधिसभामा एकमात्र सिट रहेको सोलुखुम्बुमा स्थानिय निर्वाचनमा नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ३७ हजार २ सय ५३ मत खसेको थियो ।

योमध्ये वाम गठबन्धनले २१ हजार ६ सय ९९ र लोकतान्त्रिक गठबन्धनले १३ हजार १ सय ५६ मत प्राप्त गरेका थिए । अन्य दलले २ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए । सोलुखुम्बुमा रहेका ७ गाउँपालिका मध्ये चारमा एमाले र तीनमा माओवादीका उम्मेदवार विजयी बनेका थिए । एक नगरपालिकामा कांग्रेस विजयी भएको थियो । सोलुखुम्बु प्रदेशसभा (क) मा चार गाउँपालिका छन्, यीमध्ये एमाले र माओवादीले स्थानीय निर्वाचनमा दुईदुई वटामा जितेका थिए ।

सोलुखुम्बु प्रदेशसभा (क) मा वाम गठबन्धनले ११ हजार ३३ मत र लोकतान्त्रिक गठबन्धनले ६ हजार ४ सय २३ मत प्राप्त गरेका थिए । यस्तै सोलुखुम्बु प्रदेशसभा (ख) मा रहेका तीन गाउँपालिका र एक नगरपालिकामा गएको स्थानीय निर्वाचनमा एमालेले दुई गाउँपालिका, माओवादीले एक गाउँपालिका र कांग्रेसले एक नगरपालिकामा जित हात पारेका थिए । प्रदेशसभा (ख) मा वाम गठबन्धनले १० हजार ६ सय ६६ र लोकतान्त्रिक गठबन्धनले ६ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए ।

अर्को जिल्ला खोटाङमा दुई नगरपालिका र ८ गाउँपालिका छन् । गएको स्थानीय निर्वाचनमा खोटाङमा नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ६८ हजार ४ सय ३७ मत खसेको थियो । प्रतिनिधिसभामा एक मात्र सिट रहेको खोटाङमा खसेको मतमध्ये वाम गठबन्धनले ४१ हजार ३ सय ४८ मत र लोकतान्त्रिक गठबन्धनले २६ हजार १ सय ९२ मत पाएका थिए । अन्य दलले ८ सय ९७ मत प्राप्त गरेका थिए ।

खोटाङमा रहेका दुई नगरपालिकामध्ये एमाले र कांग्रेसले एकएकमा जित हात पारेका थिए । यस्तै ८ गाउँपालिकामा एमालेले चार, कांग्रेसले तीन र माओवादीले एकमा जितेका थिए । खोटाङ प्रदेशसभा (क) मा दुई नगरपालिका र तीन गाउँपालिका छन् । दुई नगरपालिकामा एमाले र कांग्रेसले एकएकमा जित हात पारेका थिए । तीन गाउँपालिकामध्ये एमालेले दुई र कांग्रेसले एकमा जितेका थिए । स्थानीय निर्वाचनमा प्रदेशसभा (क) वाम गठबन्धनले २० हजार ५ सय र लोकतान्त्रिक गठबन्धनले १४ हजार ७ सय २५ मत पाएका थिए ।

खोटाङ प्रदेशसभा (ख) मा पाँचवटा गाउँपालिका छन्, जसमध्ये स्थानीय निर्वाचनमा एमाले र कांग्रेसले दुईदुई र माओवादीले एकमा जितेका थिए । यो प्रदेशसभामा वाम गठबन्धनले २० हजार ८ सय ४८ र लोकतान्त्रिक गठबन्धनले ११ हजार ४ सय ३१ मत प्राप्त गरेका थिए । ओखलढुंगा जिल्लामा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । एक नगरपालिका र ७ गाउँपालिका रहेको ओखलढुंगामा गएको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखका लागि ६० हजार ८ सय ४ मत खसेको थियो ।

यसमध्ये वाम गठबन्धनले ३३ हजार ५ सय ३२ र लोकतान्त्रिक गठबन्धनले २६ हजार ८ सय १७ मत प्राप्त गरेका थिए । गठबन्धनबाहिर रहेका अन्य दलले ४ सय ५५ मत प्राप्त गरेका थिए । ओखलढुंगामा रहेको एक मात्र नगरपालिकामा स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए भने बाँकी ७ गाउँपालिकामध्ये दुईमा एमाले, चारमा कांग्रेस र एकमा माओवादीले विजय प्राप्त गरेका थिए । ओखलढुंगा प्रदेशसभा (क) मा एक नगरपालिका र तीन गाउँपालिका छन् ।

यी मध्येएक नगरपालिका र एक गाउँपालिकामा एमाले, एकएक गाउँपालिकामा कांग्रेस र माओवादीका उम्मेदवार विजयी बनेका थिए । प्रदेशसभा ‘क’ मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४ सय ९९ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७ सय ८७ मत प्राप्त गरेका थिए ।  ओखलढुंगा प्रदेशसभा (ख) मा रहेका चार गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा तीनवटामा कांग्रेस र एउटामा एमालेले जित निकालेका थिए । यो प्रदेशसभामा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १७ हजार ३२ र लोकतान्त्रिक गठबन्धनले १४ हजार ९९ मत प्राप्त गरेका थिए ।

यस्तै गएको स्थानीय निर्वाचनको तथ्यांकलाई हेर्दा भोजपुरमा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा स्थानीय निर्वाचनमा नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ६२ हजार ५ सय २६ मत खसेको थियो । योमध्ये वाम गठबन्धनले ३८ हजार ४ सय ५४, लोकतान्त्रिक गठबन्धनले २३ हजार ९ सय ३८ र अन्य दलले १ सय ३४ मत प्राप्त गरेका थिए ।

प्रतिनिधिसभाका लागि एकमात्र सिट रहेको भोजपुरका दुवै नगरपालिकामा कांग्रेसले जितेको थियो भने सात गाउँपालिकामध्ये चारमा एमाले, दुईमा कांग्रेस र एकमा माओवादीले जित हात पारेका थिए । भोजपुर प्रदेशसभा (क) मा तीनवटा गाउँपालिका पूरै र अन्य तीन गाउँपालिका तथा नगरपालिकाका केही वडा समावेश गरिएको छ । यस्तै भोजपुर प्रदेशसभा (ख) मा पनि तीनवटा गाउँपालिका पूरै र अन्य तीनवटा गाउँपालिका तथा नगरपालिकाका केही वडा समावेश गरिएका छन् ।

गएको स्थानीय निर्वाचनमा भोजपुर प्रदेशसभा (क) मा वाम गठबन्धनले १८ हजार ६ सय २५ र लोकतान्त्रिक गठबन्धनले १४ हजार १ सय ५ मत प्राप्त गरेका थिए । यस्तै भोजपुर प्रदेशसभा (ख) मा वाम गठबन्धनले २० हजार ७ सय ३१ र लोकतान्त्रिक गठबन्धनले ९ हजार ४ सय ८१ मत प्राप्त गरेका थिए । सुरेन्द्र पौडेल/भाषा शर्माको बाइलाइनमा नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्