Logo
६ जेष्ठ २०८१, आईतबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणाधीन संसद् भवनको सभामुख सापकोटाद्वारा अवलोकन

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको आज सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले हालसम्म भइरहेका प्रगति बारे जानकारी गराएका थिए ।

विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ ।निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको बताएका छन् ।

सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायत थिए ।

पछिल्ला समय निर्माणमा भइरहेको प्रगतिले खुशी लागेको बताउँदै उनले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढङ्गले काम गर्न निर्देशन दिए।

तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन आग्रह गर्दै उनले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए ।

संसद् सचिवालयका तर्फबाट टोली बनाएर निर्माणमा सहजीकरण गर्ने सभामुख सापकोटाले बताए । उनले कामको रफ्तार बढाउन पनि आयोजनासँग आग्रह गरे ।

भवन निर्माणमा संलग्न कामदारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आफूले पहल गर्ने उनले बताए ।सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ ।

भवन निर्माणमा २२ महिना व्यतित भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत रु छ अर्ब दुई करोड (भ्याटबाहेक) रहेको छ ।

आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

संसद् भवन अत्याधुनिक सुविधासहित नेपाली परम्परागत ढाँचाका हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । सङ्घीय संसद्का दुवै सदन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएका छन् ।

 

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्