Logo
६ जेष्ठ २०८१, आईतबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाँगुनारायण मन्दिरबाट कलश यात्रा हनुमानढोका ल्याइँदै, राष्ट्रपतिले छायाँ दर्शन गर्ने

भक्तपुर जिल्लामा पर्ने चाँगुनारायण मन्दिरबाट कलश यात्रा हनुमानढोका शुक्रबार ल्याइँदै छ । उक्त कलश यात्रालाई राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिकहाँ र्पुयाइने चलन छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरबाट निकालिने यो परम्परा लिच्छविकालीन मानिन्छ ।

किंवदन्तीअनुसार चाँगुनारायण कलियुगमा आफ्नो सम्मान नहुने भनी बैकुण्ठ फर्कन काठमाडौँमा तलेजुसँग बिदा माग्न आउँदा तलेजुको आदेशअनुसार बाटोभर रित्तो र फुटेको भाँडाकुँडा राखिन्छ ।

रित्तो र फुटेका भाँडाका कारण फर्कने शुभसाइत नजुरेपछि बैकुण्ठ फर्कने योजना पूरा हुन सक्दैन । तर काठमाडौँमा राजाले भने सम्मानका साथ चाँगुनारायणलाई आफ्नो दरबारमा भित्र्याई पूजा गर्छन् ।

यसै किंवदन्तीअनुसार ठाउँ(ठाउँमा रित्तो भाँडो देखाउने र माटाका भाँडा फुटाउने चलन अद्यापि छ ।

किंवदन्तीअनुसार नै चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई चाँगुनारायणदेखि हिँडाएर हनुमानढोका ल्याइन्छ ।

चाँगुबाट विशेष पूजापछि सुरु हुने उक्त यात्रा चाँगुदेखि डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै त्रिचन्द्र कलेज परिसरभित्रबाट रानीपोखरीस्थित एक पाटीमा ल्याइन्छ ।

त्यहाँ हनुमानढोकाबाट पठाइएको गुरुज्यूको पल्टनले बढाइँसहित यात्रालाई स्वागत गर्ने चलन छ ।

कमलाक्षीबाट पुरानो सहरभित्र पसी यात्रा असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुग्दछ ।

हनुमानढोमा प्रत्यक्ष देवी कुमारीको उपस्थितिमा तलेजुका पुजारी, कर्माचार्य र जोशीलगायतले यात्रालाई तलेजुको ठूलो ढोकाबाट लसकुस (स्वागत) गरी भित्र लग्छन् ।

तलेजु परिसर अर्थात् त्रिशूल चोकसँगैको एक चोकमा कलशको पूजा गरेपछि यात्रा अघि बढ्छ, राष्ट्रपति निवासतर्फ ।

हनुमानढोकादेखि राष्ट्रपति निवाससम्म जानका लागि हनुमानढोकाबाट गाडीको व्यवस्था गरिन्छ ।

राष्ट्रप्रमुखले आफ्नो छायाँ दर्शन गरी फूलप्रसाद ग्रहण गरी चाँगुनारायणको शक्ति आर्जन गर्ने परम्परा छ ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्