Logo
१५ बैशाख २०८१, शनिबार
(March 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँसबारीको अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल

काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् ।

उनले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरूको लगत सङ्कलन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी त्यस्ता जग्गाहरू साबिककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए ।

अर्यालले यस सम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरूलाई अपिल गरिएको पनि स्पष्ट पारे । उनले मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको बताए । यस सन्दर्भमा निष्पक्ष रूपमा काम गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनको भनाइ छ । अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताए ।

बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उनले अध्ययनपश्चात् कार्यान्वयनमा लगिने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नवीकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरूसँग गैर कानुनी रूपमा राखिएका हतियार नियन्त्रण गरी शून्यमा झार्ने नीति अवलम्बन गरेको पनि बताए ।

सचिव अर्यालले अहिले अपराधको विश्लेषण गर्दा आत्महत्या, बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुरहरू, अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, लागु औषध दुर्व्यसन, चोरी, जबर्जस्ती करणी, बहुविवाह र ठगी जस्ता अपराधहरूको हिस्सा ठुलो देखिएको बताए । उनले यस प्रकारका अपराधहरू सम्पूर्ण अपराधको ८० प्रतिशत भन्दा बढी रहेको बताए ।

प्रकाशित मिति: Mar 27, 2024

प्रतिक्रिया दिनुहोस्