Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाम र बझाङमा सत्ता गठबन्धनकै छुट्टाछुट्टै उम्मेदवार

काठमाडौँ । आगामी वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य १ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन् ।

सत्ता गठबन्धनमा हाल नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी छन् । यी पाँच दलमध्ये जसपा अनिर्णीत बन्दा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।

त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी नदिने निर्णय गरेको सत्ता गठबन्धनभित्रकै दल रास्वपाले इलाम–२ मा उम्मेदवारको खोजी गरिरहेको छ । उसले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्ने अन्तिम निर्णय गरिसकेको छैन ।

अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी उठाउने निश्चित भएको छ । यद्यपि यो पार्टीले पनि आधिकारिक निर्णय नगरे पनि नेता झलनाथ खनालले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताए ।

माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधवार बिहान बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले जिल्लाको समन्वयनमा पार्टी अध्यक्ष प्रचण्डलाई उम्मेदवार तय गर्न जिम्मेवारी दिएको छ । नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नामावली माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ ।

उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दिने कार्यतालिका छ । त्यसअघि दलहरूबिच एक अर्कामा बार्गेनिङ पावर बढाउन उम्मेदवारी दिने रणनीति पनि भएको हुनसक्ने कतिपयको बुझाई छ । जसअनुसार गठबन्धनभित्रका दलहरूबिच अन्तिम समयसम्म अहिलेसम्मको निर्णयमा फेरबदल समेत हुनसक्ने कतिपय नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: Mar 27, 2024

प्रतिक्रिया दिनुहोस्