Logo
१५ बैशाख २०८१, शनिबार
(March 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार जनाको उम्मेदवारी घोषणा, कांग्रेस र रास्वपाको अझै टुङ्गिएन

प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचन हुँदैछ । अहिलेसम्म सो निर्वाचन क्षेत्रमा चार जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

एमालेले उम्मेदवार बनाएको नेम्वाङ उनै सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुहाङ चुनावी अभियानमा लागिसकेका छन् ।

यस्तै प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेका छन् । थेगिम पनि चुनावी मैदानमा उत्रिएका छन् । थेगिमले स्थानीय जनतासँग छलफल गर्ने र पहिचानको मुद्दाको विषयलाई प्रखर रूपमा उठाइरहेका छन् ।

Daken (2)

प्रदेशको नाम कोशी राखेपछि पहिचानवादी संघसंस्थाहरू किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा र नेपाल शेर्पा सङ्घसमेतको सहभागितामा थेगिमको नेतृत्वमा प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन भएको थियो । आफू उम्मेदवार भएसँगै पहिचान पक्षधर पार्टीहरूसँग पनि सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।

‘पहिचान पक्षधरका पार्टी जसपा, माओवादी पार्टीका साथीहरूले पनि सघाउने भन्नुभएको छ । त्यसो हुँदा राम्ररी सल्लाह गरौँ भनेका छौँ,’ थेगिमले भने, ‘तर, अब पार्टीहरूको कस्तो खालको गठबन्धन बन्छ । त्यहाँ गठबन्धन बनेर ह्वीप जारी नै भयो भने त अप्ठ्यारो अवस्था होला । नत्र हामी सहकार्य गरेर अगाडि बढ्छौँ ।’

यस्तै सोही निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बूले पनि जनताको घरदैलो अभियान सुरु गरिसकेका छन् । प्रारम्भिक कार्यक्रम गरिरहेको र जनतासँग अन्तरक्रिया गर्दै हिँडेको उनले सुनाए । आफूलाई धेरै जनताले रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्न सुझाव दिएको बताएका छन् ।

Milan (2)

यद्यपि अहिलेसम्म कुनै निर्णय भइनसकेको उनले बताए । यसअघि उनी हर्क साम्पाङको समर्थनमा उम्मेदवार बन्ने चर्चा थियो । रास्वपाले भोलिसम्ममा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आवेदन दिनुपर्ने समयावधि तोकेको छ ।

उता, नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले दिएको जानकारी अनुसार सो पार्टीले पनि गत चैत ११ गते नै ६ जना उम्मेदवारको आकाङ्क्षीको नाम केन्द्रमा पठाइसकेको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि भेषराज आचार्य, पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ ।

देशको तेस्रो ठुलो पार्टीको रूपमा रहेको नेकपा (माओवादी केन्द्र)ले भने अहिलेसम्म उम्मेदवार छनोटको प्रक्रियासमेत सुरु गरेको छैन । माओवादी केन्द्र कोशी प्रदेशका एक नेताले जानकारी दिएअनुसार केन्द्रबाटै उम्मेदवार सिफारिस गर्न कुनै निर्देशन नभएको हो । ‘हामीलाई केन्द्रले उम्मेदवार सिफारिस गर्नु नै भनेको छैन, अनि किन उम्मेदवार छनोट गर्नु ?,’ उनले भने ।

माओवादी केन्द्रले अन्तिम समयमा एमाले वा पहिचानवादीका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्न सक्ने सोही पार्टीका कार्यकर्ता नै अनुमान गर्छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)ले भने केन्द्रमा उम्मेदवार सिफारिस गर्न स्थानीय समितिलाई निर्देशन दिएको छ । यस्तै सीके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापति समेत रहेका खड्का एमालेका नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । कांग्रेसका उम्मेदवार खड्काले २०७९ सालमा माओवादी, नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेका थिए । यसपटक केन्द्रमा गठबन्धन फेरबदल भएसँगै इलामको निर्वाचनमा कुन कुन पार्टीबीच सहकार्य होला वा एक्ला एक्लै लड्लान् भन्ने विषय स्पष्ट भने भइसकेको छैन ।

प्रकाशित मिति: Mar 26, 2024

प्रतिक्रिया दिनुहोस्