Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालय समय र विदामा बैठक भत्ता नदिन अख्तियारको निर्देशन

८चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ । आयोगले विदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रकृयामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न समेत निर्देशित गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विभिन्न मन्त्रालयहरुलाई पत्राचार गर्दै बैठक भत्तामा देखिएका विकृतिहरु हटाउन सुझाव दिइएको हो । कानुनअनुसार हुनुपर्ने कुरा नभएको भए आयोगको सुझाव अनुसार गर्न सुझाव दिएका हौं,’ उनले भने ।

सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन छ । भत्ताकै लागि बैठक बसाल्ने र कार्यालय समयभित्र कार्यलयको कामभन्दा यस्ता बैठकमा सहभागी हुने विकृति हरेकजसो सरकारी निकायमा छ । अझ कार्यालय समय सकिएपछि पनि अनावश्यक बैठक बसाल्ने गरिएको छ ।

कार्यालय समयभित्र नियमित कामकाज र छलफलका लागि बस्ने बैठकमा समेत भत्ता बाँड्ने विकृति पनि छ । विदामा बसेका कर्मचारीहरु बैठक भत्ता बुझ्नका लागि बैठकहरुमा जाने गरेका छन् । बैठक भत्तामा देखिएका यस्ता विकृतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेको छ ।

यसकै आधारमा अख्तियारले बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई सो अवधिमै कार्यालयमै बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी गराउने कार्य प्रचलित कानुनको बर्खिलाप अनियमित कार्य हुने बताएको छ । अबदेखि त्यस्तो कार्य नगर्न/नगराउन भन्दै सबै मन्त्रालय र निकायहरुलाई भनेको छ ।

कार्यालय सञ्चालन भएको दिन र कार्यलय समयमा पनि कार्यालय समय भन्दा फरक विहान/बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन पनि पत्रमा भनिएको छ ।

अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौं संस्करण)ले एउटै निकाय र अन्तर्गतको पदाधिकारी वा कर्मचारी मात्र बैठक बसेको भए त्यस्तो बैठकको लागि बैठक भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ । अख्तियारले यो व्यवस्था अनिवार्य रुपमा लागु गर्न भनेको छ । पत्रको बोधार्थ प्रधाममन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले अख्तियारको निर्देशनअनुसार सचिवस्तरीय निर्णयमार्फत मातहतका निधायमा परिपत्र गरिसकेको छ । मन्त्रालयले यस्तो परिपत्रको बोधार्थ अर्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दिएको छ ।

प्रकाशित मिति: Mar 21, 2024

प्रतिक्रिया दिनुहोस्