Logo
१६ बैशाख २०८१, आईतबार
(March 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकतर्फी प्रेमपछि हत्या, झुक्याउनलाई नक्कली बिहेको फोटो पोस्ट

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ ।

स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका-३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ ।

२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव रहेको भन्दै प्रहरीलाई खबर आएको थियो ।

खबर आउनसाथ प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । त्यसदिन साँझदेखि घटनास्थललाई नियन्त्रणमा राखेको प्रहरीले २५ फागुनमा शव उत्खनन गरेको थियो ।

‘शव उत्खनन गर्दा दुई हात बेल्टले बाँधिएको र घाँटीमा टाइले कसिएको अवस्थामा भेटिएको थियो’, अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘क्राइम सिन र शवको अवस्था देख्नेबित्तिकै हत्या हो भन्ने प्रमाणहरु फेला परेकाले हामीले गहन अनुसन्धान सुरु गरेका थियौं ।’

अनुहार हेरेर मात्र शव चिन्न सकिने अवस्था थिएन । तर कपडाको खल्तीमा भेटिएको चाबीबाट उक्त शव सुष्माकै हो भनेर परिवारले शव सनाखत गरेको थियो । शव पहिचान गरेको एक सातापछि प्रहरीले हत्या आरोपी सार्वजनिक गरेको हो ।

हत्याको कारण एकतर्फी प्रेम

सुष्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका बासिन्दा हुन् । प्रहरीका अनुसार उनीहरु बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो ।

पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध चाहेकी थिइनन् । ‘सुष्मा मेरो हुन सक्दिनन् भने म कसैको पनि हुन दिन्न भनेर योजना बनाएर हत्या गरेको देखियो’, अनुसन्धानको नेतृत्व गरेका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले भने ।

रुपेन्द्रले सात दिनसम्म सुष्माको गतिविधिको अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ । सुष्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको, अन्य व्यक्ति देखेकाले सफल नभएको र आठौं दिनमा हत्या गरेर शव गाडेको वयान रुपेन्द्रले प्रहरीसमक्ष दिएका छन् ।

हत्यापछि मोबाइल र किताब लिएर फरार

हत्यापछि बाटोबाट करिब ५० मिटर जति तल लगेर रुपेन्द्रले शव गाडेका थिए । यो काम उनी एक्लैले गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेको छ । सुष्माको किताब र मोबाइलसमेत रुपेन्द्रको कोठामा फेला पर्नुले उनको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ ।

फोटोसप गरेर विवाहको तस्वीर

सुष्मा २२ माघमा घरबाट कलेज गएदेखि फर्केकी थिइनन् । २३ माघमा उनको फेसबुक आइडीबाट बेहुला बेहुलीको कपडा लगाएको फोटो पोस्ट भएको थियो । बेहुलाको अनुहारमा इमोजी राखेर छोपिएको थियो भने क्याप्सनमा लेखिएको थियो, ‘सरी सबैजनालाई ३ दिनमा म आउँछु ।’

त्यसको ३ दिनपछि २५ माघमा परिवारका सदस्यले सुष्मा हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । प्रहरीमा निवेदन दिएको भोलिपल्टै सुष्माकी दिदी नाता पर्नेलाई सुष्माको मोबाइलबाट एउटा म्यासेज गएको थियो, ‘के को पुलिस रिपोर्ट गरेको ? म ३ दिनमा आउँछु भन्दाभन्दै कस्तो मान्छेहरु रहेछ …।’

परिवारले चालेको एक–एक कमदबारे जानकारी भए जसरी उनकै मोबाइलबाट म्यासेज आउँदा परिवार झन् चकित परेको थियो । तर रुपेन्द्र पक्राउ परेपछि खुल्यो उनैले सुष्माको हत्यापछि प्रहरीलाई छल्न उनकै फेसबुकबाट विवाह गरेको तस्वीर पोस्ट गरेको र मोवाइलबाट म्यासेज पठाएका रहेछन् ।

सुष्माको शव पहिचान भएपछि प्रहरीले फेसबुकमा पोस्ट भएको फोटोकै आधारमा अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि प्रहरीले सुष्मासँग कुराकानी हुने व्यक्ति र उनका साथीहरुको खोजी गर्दै एक सय जना भन्दा बढीसँग सोधपुछ गरेको थियो । २० जनालाई प्रहरी कार्यालयमै उपस्थित गराएर सोधपुछ गरेको थियो ।

‘करिब ७० घर जतिको गाउँ थियो । पुरै गाउँ नै सर्च गरेपछि रुपेन्द्रलाई घरैबाट पक्राउ गर्न सफल भयौैं । उनैको कोठाबाट सुष्माका कापी किताब समेत बरामद भएपछि झनै सजिलो भयो’, एसएसपी राठौरले भने ।

पक्राउ परेका रुपेन्द्रलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाउन प्रहरी वृत्त बौद्ध पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: Mar 17, 2024

प्रतिक्रिया दिनुहोस्