Logo
१५ बैशाख २०८१, शनिबार
(March 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको दाबीपछि कर्णालीका मुख्यमन्त्रीसहित माओवादी नेताहरु काठमाडौँमा

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेपछि मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्रीसहित माओवादी नेताहरुले समयसामयिक विषयमा छलफल गरेको बताइएको छ ।

शनिबार काठमाडौँ पुगेको टोलीमा मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, माओवादी सांसद वीरबहादुर शाही लगायत थिए । प्रधानमन्त्रीको कार्यालयमै प्रचण्डसँग प्रदेश सरकार र समसामयिक राजनीतिबारे छलफल भएको एक नेताले बताए । छलफलमा प्रदेशको टोलीले कर्णालीमा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिनुपर्ने विषयमा प्रचण्डसँग कुरा राखेको थियो । जवाफमा प्रचण्डले सकेसम्म कर्णालीमा यथावत् राख्नेगरी सक्दो प्रयाग गरिने बताएका थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले  भने, ‘हो, कर्णाली माओवादीकै आधार क्षेत्र हो, अन्तभन्दा कर्णालीमा हाम्रो सिट पनि राम्रै छ, तर अहिले कर्णालीमा एमालेले पनि दाबी गरेको देखिन्छ । परिस्थिति के–कस्तो हुन्छ, सकेसम्म कर्णालीमा वर्तमान मुख्यमन्त्रीलाई निरन्तरता दिनेगरी छलफल चलाउँला ।’

प्रचण्डले माओवादी केन्द्रको नेतृत्व रहेको प्रदेशमा यथावत् राखेर कांग्रेसले नेतृत्व गर्दै आएको प्रदेशमा मात्र सरकारको नेतृत्व परिवर्तन गरिने बताएको स्रोतको भनाइ छ । माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले समसामयिक विषयमा छलफल भएको बताए । यद्यपि प्रदेशको हकमा राष्ट्रिय सभाको अध्यक्षको चुनाव र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै छलफल गरिने प्रधानमन्त्रीको भनाइ रहेको उनले प्रस्ट पारे ।

एमालेले प्रदेशमा दाबी गरेको विषयमा के भन्नुभयो नि ? भन्ने प्रश्नमा मल्ल भन्छन्, ‘दाबी गर्ने कुरा स्वाभाविक नै हो, ठुला दलहरुले दाबी गर्ने कुरालाई अन्याथा मान्नु भएन । तर, कर्णाली सबै हिसाबले माओवादीको आधार क्षेत्र हो । सिटको हिसाबले पनि अन्य प्रदेशभन्दा कर्णाली नै अघि छ । त्यसैले यहाँ वर्तमान मुख्यमन्त्रीले नै निरन्तरता पाउनुहुन्छ ।’

मल्लले कर्णालीको विषयमा प्रधानमन्त्रीलाई भनिरहनु नपर्ने र प्रधानमन्त्री स्वयम्लाई कर्णालीको विषयमा राम्रोसँग थाहा भएको पनि बताए । तर, उक्त टोलीमा सहभागी अर्का एक नेताले भने कर्णालीमा वर्तमान सरकारले आशा जगाउन नसकेको र एमालेले नेतृत्वमा दाबी गरेको कुरा प्रधानमन्त्री समक्ष पुगेको बताए । त्यसैले नेतृत्वका लागि एमाले–माओवादीबिच होड चल्ने उनको भनाइ छ ।

०७४ मा एमालेले बहुमत हुँदा पनि माओवादीलाई नेतृत्वमा पु¥याएको, ०७९ मा पनि एमालेको समर्थनमै राजकुमार शर्मा मुख्यमन्त्री बनेको र पटक–पटक एमाले सरकारबाट बाहिर रहेकाले यो पटक एमालेले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । तत्कालीन नेकपा हुँदा एमाले नेता यामलाल कँडेलले पटक–पटक प्रयास गर्दा पनि मुख्यमन्त्री हुन सकेका थिएनन् । बिहीबार बसेको एमाले प्रदेश कमिटीको बैठकमा जसरी पनि यो पटक सरकारको नेतृत्वमा एमालेले गर्नुपर्ने आवाज उठेको र तिनै विषयलाई प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले नेताहरु बताउँछन् ।

कर्णालीको नेतृत्वका लागि दुबै दलहरुले आ–आफ्नो तरिकाले केन्द्रमा ‘लबिङ’ गरिरहेका छन् । केन्द्रले प्रदेशको टुङ्गो लगाउने भएकाले प्रदेशमा भने दलहरुबिच खासै छलफल नभएको दुबै दलका नेताहरुको भनाइ छ । एमाले संसदीय दलका नेता यामलाल कँडेललाई विगतमा पार्टी केन्द्रबाट भएको असहयोगका कारण नेतृत्व लिनबाट ब्याक हुनु परेको थियो ।

पछिल्लो समय एमाले केन्द्रका थुप्रै नेता पटक–पटक कर्णालीमा आइ कर्णालीमा पार्टीको बस्तुस्थिति बुझेका थिए । संगठन राम्रो हुँदा हुँदै पनि एमाले पछि पर्नुको कारण पार्टी केन्द्रको असहयोग, संवैधानिक निकायमा एमाले कर्णालीका नेताहरुले स्थान नपाउनु, केन्द्र सरकारमा पनि मन्त्री हुनुबाट वञ्चित हुनु, पार्टी केन्द्रकै असहयोगले प्रदेशको नेतृत्वबाट चुकेको लगायतका विषयमा छलफल भएको छ । छलफल पश्चात एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय नेताहरु कर्णालीप्रति यो पटक सकारात्मक बनेको एमालेका एक नेताले बताए ।

प्रकाशित मिति: Mar 11, 2024

प्रतिक्रिया दिनुहोस्