Logo
१६ बैशाख २०८१, आईतबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जीत , माल्दिभ्स १३ रनमै अलआउट

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ । जितसँगै नेपाल समूह डी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । २२८ रनको विजयी लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३.५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो ।

नेपाली बलरसामु माल्दिभ्सका ब्याटर टिक्न सकेनन् । माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । माल्दिभ्सकी सुमय्या बिन्थ अहमिदले बनाएको ५ रन नै सर्वाधिक धेरै रन बन्न पुग्यो र यस्तै नबा बिन्थु नसिमले २, हब्सा अब्दु्लाहले २(२ रन जोडे । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए ।

नेपालको तर्फबाट अस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । यस्तै पूजा महतो र रुविना क्षेत्रीले ३३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको थियो ।

रुबिनाले ५८ बलमा ११८ रन बनाइन् । उनले ५ छक्का र १० चौका प्रहार गरिन् । रुविनाले ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्धको खेलमा ८२ रन प्रहार गरेकी थिइन् ।

यस्तै ३६ बलमा ५९ रन बनाएकी महतोले १ छक्का र ५ चौका प्रहार गरिन् । कविता कुँवरले १० बलमा १३, सीता रानामगरले ११ बलमा १५ र डली भट्टले ४ बलमा ६ रन बनाइन् । कप्तान इन्दु बर्मा भने पहिलो बलमै आउट हुन पुगिन् ।

माल्दिभ्सको तर्फबाट सम्मा अलीले ४ ओभरमा ४४ रन खर्चिँदै ३ विकेट लिइन् भने नबा बिन्थु नसिमको नाममा १ विकेट रह्यो । उनले ४ ओभरमा ४५ रन खर्च गरिन् ।

नेपालले यसअघिको दुवै खेल जितिसकेको छ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्