Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासमिति बैठकको तयारीमा जुटदै नेपाली कांग्रेस

 

नेपाली कांग्रेस फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकको तयारीमा जुटेको छ। बैठक तयारीका लागि केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ८ वटै उपसमितिका संयोजकहरू र उपसभापति पूर्णबहादुर खड्काबीच छलफल हुने भएको छ।

कांग्रेसले ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा महासमिति बैठक गर्न लागेको हो।

देशभरका १६५ प्रतिनिधि सभा क्षेत्रबाट ११ जनाका दरले १८१५ जना महासमिति सदस्य आउने विधानको व्यवस्था छ।

केन्द्रीय सदस्यहरू १६८, पूर्वकेन्द्रीय सदस्य, भ्रातृ तथा ३० भन्दा बढी देशका जनसम्पर्क समितिबाट बैठकमा प्रतिनिधित्व हुनेछ।

सभापति शेरबहादुर देउवाले विधान अनुसार १५ जना महासमिति सदस्य मनोनीत गर्न पाउँछन्। दुई हजार तीन सय हाराहारीमा प्रतिनिधि महासमिति बैठकमा सहभागी हुनेछन्। यी महासमिति सदस्यबाट तीन हजारका दरले कांग्रेसले ६९ लाख रुपैयाँ सङ्कलन गर्नेछ।

करिब २५ क्षेत्रमा अझै महासमिति सदस्य चयन हुनै बाँकी रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन्।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनअघि नै महासमिति सदस्य चुनिनुपर्ने भए पनि ४१ क्षेत्रमा प्रतिनिधि चयन भएकै थिएन। भदौ १९ गते केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जिल्ला कार्यसमितिहरूमा पत्राचार गर्दै असोज २९ भित्रै महासमिति सदस्यलगायत चुनाव गरिसक्न भनेका थिए।

तर तोकिएको समयमा महासमिति सदस्य चयन हुन सकेका थिएनन्।

महाधिवेशन गर्न महासमिति सदस्य आवश्यक पर्दैनथ्यो, महाधिवेशन प्रतिनिधि चयन गरे पुग्थ्यो। त्यसैले पनि महासमिति सदस्य चयनमा ढिलाइ भएको हो। हरेक प्रतिनिधि सभा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन् तीमध्येबाट ११ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ।

प्रायस् सबै क्षेत्रमा महासमिति सदस्य चयन गर्दा मतदानबाट हुने गरेको छ, कतै भने सहमतिमै चयन भएका थिए।

महासमिति बैठकले नेतृत्व चयन गर्नेबाहेक सबै काम गर्न सक्छ। विशेषगरी नीति बनाउने काम महासमितिले गर्ने हो। १४ औं महाधिवेशनमा नीतिबारे कुनै छलफल नै नगरेर कांग्रेसले नेतृत्व मात्रै चयन गरेको थियो।

महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी र १३४ केन्द्रीय सदस्य चुनिएका थिए। विधानअनुसार सभापति शेरबहादुर देउवाले समावेशी सिद्धान्तका आधारमा ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन् भने केन्द्रीय सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ।

आकांक्षी धेरै भएपछि देउवाले कोषाध्यक्ष मनोनीत गरेका छैनन्। सभापति देउवा र महामन्त्री गगन थापाले कोषाध्यक्षको काम पनि गर्दै आएका छन्।

विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक अरू वर्षमा कम्तीमा एक पटक महासमिति बैठक गर्नुपर्छ।

०७९ मा कांग्रेसले महासमिति बैठक नै गरेन।

नीति महाधिवेशन गर्ने कि महासमिति भन्नेमै अन्यौल रह्यो। नीति महाधिवेशन गर्दा कसलाई प्रतिनिधि मान्ने निश्चित नहुँदा नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमिति बैठक बोलाउने केन्द्रीय समितिले निर्णय गरेको थियो।

महासमितिमा भाग लिन हरेक प्रतिनिधिले बुझाउनुपर्छ तीन हजार रुपैयाँ

महासमिति बैठकमा सहभागी हुनुअघि केन्द्रीय कार्यालय सानेपामा पुगेर प्रतिनिधिले नाम दर्ता गराउनुपर्छ। त्यसका लागि फागुन ५ र ६ गते नाम दर्ता गराई प्रवेश पत्र दिइने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन्।

नाम दर्ता गरी प्रवेश पत्र लिन आफू महाधिवेशन सदस्य हो भन्ने खुल्ने कागजात ल्याउनुपर्छ।

आफू महासमिति सदस्य भएको प्रमाण वा सम्बन्धित जिल्लाका सभापतिले प्रमाणित गरेको पत्र ल्याए मात्र प्रवेश पत्र दिइने कांग्रेसले जनाएको छ।

‘प्रवेश पत्रबिना सहभागी सदस्यहरू महासमिति बैठकमा छिर्न पाउनु हुने छैन, प्रवेश पत्र महासमिति बैठक चलुन्जेल साथमा राख्नुपर्छ,’ उनले भने।

महासमिति सदस्यले नाम दर्ता गर्ने बेलामै अटो साइजका दुई प्रति फोटो र सहभागी शुल्कबापत तीन हजार रुपैयाँ अनिवार्य बुझाउनुपर्ने उनले बताए।

खाना(खाजा खुवाइने, बास आफैँ बस्नुपर्ने

महासमिति बैठकका प्रतिनिधिलाई कांग्रेसले खाना भने खुवाउने भएको छ। महासमिति अवधिभर बिहानको नास्ता, खाना र खाजा खुवाउने व्यवस्था छ। यसका लागि केन्द्रीय सदस्य उदयशमशेर राणाको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति गठन भएको छ।

आवासको व्यवस्था भने महासमिति सदस्य आफैंले गर्नुपर्छ। ‘पार्टीले तय गरेको आवास अधिकांशलाई चित्तबुझ्दो नहुने समस्या विगतमा पनि देखिएका थिए, त्यसैले आवास व्यवस्थापन गरेनौं,’ उनले भने।

महासमितिका लागि ८ उपसमिति

महासमिति मूल आयोजक समितिका संयोजकसमेत रहेका सभापति शेरबहादुर देउवाले महाधिवेशन तयारी गर्न ८ उपसमिति संयोजक तोकेका छन्।

प्रचारप्रसार उपसमिति संयोजकमा मीनबहादुर विश्वकर्मा छन्। फागुन २ गतेदेखि नै यो समितिले प्रचारप्रसार लगायतका काम गर्नेछ।

आवास समन्वयमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापनमा उदयशमशेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडालाई जिम्मेवारी दिइएको छ।

स्वयमसेवक परिचालनमा जितजंग बस्नेत, स्वास्थ्य समन्वयतर्फ उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापनतर्फ ललितपुर कांग्रेस सभापति जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

उपसभापति र महामन्त्रीले पेश गर्नेछन् प्रस्ताव

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रस्ताव पेश गर्नेछन्। यो समितिमा पदाधिकारी र प्रवक्ता प्रकाशशरण महत छन्।

यस्तै महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी छ। दुवै महामन्त्रीले संयुक्त रूपमा प्रतिवेदन पेश गर्ने गरी पनि छलफल गरेका थिए।

गत असोज ८ गते बसेको केन्द्रीय समिति बैठकले महासमितिमा विभिन्न प्रस्ताव पेश गर्न उनीहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। महासमिति बैठकबाट कांग्रेसले पार्टीको आगामी कार्यदिशाबारे छलफल गरी नीति बनाउनेछ।

महामन्त्री थापाकाअनुसार समूहगत रूपमा छलफल गरी विभिन्न विषयमा मसिनो गरी छलफल गर्ने तयारी छ।

समाजवाद, आर्थिक, युवा विदेशिएको अवस्था, परराष्ट्र, राष्ट्रिय राजनीति, चुनावअघि नै गठबन्धन ठिक कि बेठिकजस्ता विषयमा छलफल गर्ने तयारी छ।

कांग्रेसभित्र सदस्यता, उम्मेदवार छनौट व्यवस्था, भ्रातृ र शुभेच्छुक संस्था राख्ने कि नराख्नेजस्ता विषयमा पनि छलफल हुनुपर्ने आवाज उठेका छन्। यी विषयमा पनि महासमितिमा छलफल गर्ने तयारी छ।

महासमितिअघि वडासम्म पुगेर सुझाव सङ्कलन

कांग्रेसले महासमिति बैठक सुरू गर्नुअघि समुदायमा कांग्रेसु अभियान सञ्चालन गरेको छ। उक्त अभियानबाट केन्द्रीय पदाधिकारी र सदस्यहरू वडा-वडा पुगेर कार्यकर्ता र नागरिकका गुनासा र सुझाव सङ्कलन गरेका छन्।

कार्यकर्ता र नागरिकका सुझावलाई महासमिति बैठकमा पनि पेश गर्ने तयारी कांग्रेसको छ। माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सुरू भई माघ २३ गतेसम्म चलेको थियो।

यही अभियानअन्तर्गत महामन्त्री गगन थापा हुलाकी राजमार्गकेन्द्रित संवाद यात्रामा निस्केका थिए।

‘पार्टीले लिने नीति तय गर्नुअघि जनताका सुझाव लिन हामी समुदायमा जान जरूरी थियो, नागरिकको सुझाव टिपेका छौं, त्यसैअनुसार नीति बनाउँछौं,’ महामन्त्री थापाले भने।

झापादेखि नवलपरासीसम्म पुगेर थापाले अहिलेका लागि उक्त अभियान रोकेका छन्। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि समुदायमा कांग्रेस र थापाको संवाद यात्रा रोकिएको थियो।

महासमिति बैठकपछि मिति तय गरेर फागुनभित्रै समुदायमा कांग्रेसु र आफ्नो बाँकी ७ जिल्ला संवाद यात्रा पुनस् सुरू गरिने थापाले बताएका छन्।

 

प्रकाशित मिति: Feb 8, 2024

प्रतिक्रिया दिनुहोस्