Logo
१८ बैशाख २०८१, मंगलबार
(February 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्यापछि आत्मसमर्पण

लुम्बिनी प्रदेश स्थित श्रीमती र छोराको हत्या अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र  दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।

नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए ।

उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 4, 2024

प्रतिक्रिया दिनुहोस्