Logo
२३ बैशाख २०८१, आईतबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचन : तोकिएका नेतालाई नै ल्याउने प्रकृया पुरा गर्न आवश्यक्ता भन्दा बढी तामझँम

राष्ट्रिय सभा निर्वाचनका नामा अनावश्यक खर्च र तामझाँम बढी गरिएको पाइएको छ । निर्वाचित दलीय जनप्रतिनिधिहरुले नै मतदानको प्रकृया पुरा गर्ने र तोकिएका ब्यक्तिहरु नै निर्चाचित हुने यस चुनावमा राष्ट्रिय सम्पतीको दुरुपयोग गर्दै आवश्यक्ता भन्दा बढी तामझाँम गरिएको पाइएको हो ।

रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज बिहिबार मतदान प्रकृया सुरु भएको छ । ७ प्रदेशबाट १९ पदका लागि ८ राजनीतिक दलबाट उम्मेदवारुले प्रतिस्पर्धा गर्न लागेका हुन् । भने सत्ता गठबन्धन आवद्ध दलहरुले तोकिएका आफ्ना हरुवा उम्मेदवारहरुलाई जिताउन चुनावी गठबन्धन नै गरेका छन् ।

जवकी राजनीतिक दलकै उम्मेदवार बन्दै निर्वाचित भएका पालिका जनप्रतिनिधिहरु र प्रदेश सांसदहरुले मतदान गर्ने यस चुनावमा आआफ्ना दलकै उम्मेदवारलाई मत हाल्ने निश्चित नै छ ।

तर पनि प्रकृया पुरा गर्न फजुल तामझाँम गर्न लागिएको हो । स्वतन्त्र तथा निश्पक्ष एवं विज्ञ ब्यक्तिहरुका लागि विश्वभर माथिल्लो सदन राष्ट्रिय सभाको अवधारणा अनुसार नेपालमा पनि यो सदनको ब्यवस्था गरिएको हो ।

तर यहाँ न कुनै विज्ञता न कुने दक्षता तर दले गुटवाजीका नाममा उही थोत्रा नेताहरुलाई स्थान दिन यो सभाको प्रयोग हुँदै आएको छ ।

यसका लागि नेकपा (एमाले) बाट १९ पदमा १९ वटै उम्मेदवार उत्रिएका छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का छ, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् ।

त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी  (नेमकिपा) का चार जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने र बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने आयोगको भनाई छ ।

२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सांसद रपालिकाका प्रमुख र उपप्रमुखहरुले गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र प्रस्तूत गरिएका छन् ।

भने पालिका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरूको व्यवस्था गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ ।

जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९/९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने पौडेलको भनाइ छ ।

प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन्। पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन्।

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुखहरुका मतभार १९ कायम गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनको सुरक्षाका लागि जम्मा ४ हजार २९ जना प्रहरी मैदानमा खटाइएको छ ।

सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम लुम्बिनी प्रदेशमा सुरक्षाकर्मी खटाइएको छ । कोशी प्रदेशमा ३ सय ८, मधेस प्रदेशमा २ हजार ८ सय ७३, बागमती प्रदेशमा २ सय ७३, गण्डकी प्रदेशमा १ सय ५४, लुम्बिनी १ सय १८, कर्णाली प्रदेशमा १ सय २८ र सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जना सुरक्षाकर्मी खटाइएको छ । केन्द्रमा एक सय जना सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्