Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा : सयौं वर्षको प्रतिक्षा पूरा भएको मोदीको भनाइ

अन्ततः बहुप्रतिक्षित अयोध्याको राम मन्दिरमा विधिवत् मूर्तिको प्राण प्रतिष्ठा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् ।

प्राण प्रतिष्ठा पछि प्रधानमन्त्री मोदीले २२ जनवरी २०२४ क्यालेन्डरमा लेखिने सामान्य तिथि नभएर यो, कालचक्रलाई बदलेको दिनका रुपमा याद गरिने बताए ।

उनले आजको दिनलाई हजारौं हजार वर्षसम्म पढिने र स्मरण गरिने बताएका छन् । उनले सयौं वर्षको प्रतिक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताए ।

‘रामलला अब टेन्टमा रहने छैनन्, दिव्य मन्दिरमा रहने छन्,’ प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित समरोहमा उनले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ ।’

उनले भूमि पूजन पछि नै सम्पूर्ण रामभक्तमा उत्साह बढाएको र मन्दिर निर्माणसँगै विश्वास बढाउँदै लगेको बताउँदै प्राण प्रतिष्ठा पछि सबैमा खुसी छाएको र पूरा देशले दीपावली मनाउने बताए ।

उनले न्यायको प्राय भगवान रामको मन्दिर पनि न्यायोचित तरिकाबाटै बनेको बताए । उनले भारतको न्यायपालिकाप्रति आभार समेत प्रकट गरे ।

उनले रामको मन्दिरलाई शान्ति, आपसी सद्भाव र समन्वयको प्रतिक भनेका छन् । रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्ण रुपमा निरस्त भएको उनको भनाइ थियो ।

उनले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म दिएको बताए । ‘राम आगो होइन, ऊर्जा हो । राम विवाद होइन, समाधन हो,’ उनले भने, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राण प्रतिष्ठाले देखाएको छ ।’

३१ वर्ष अगाडि ६ डिसेम्बर १९९२ का दिन हिन्दुवादी कार्यकर्ता र समर्थकहरूको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचानलाई ध्वस्त पारेका थिए ।

त्यही मस्जिद रहेको स्थानमा राम मन्दिरको निर्माण भएको छ । सन् १५२६ मा भारत आएका पहिलो मुगल मुस्लिम सम्राट बाबरको नाममा उनका सेनापति मीर बांकीले सन् १५२८ मा अयोध्यामा बाबरी मस्जिदको निर्माण गराएका थिए ।

हिन्दुहरूले रामको जन्मभूमि रहेको स्थानमा पुरानो मन्दिरलाई भत्काएर उक्त मस्जिदको स्थापना गरिएको मान्यता राख्दै आएका थिए । रामको जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।

प्रकाशित मिति: Jan 22, 2024

प्रतिक्रिया दिनुहोस्