Logo
१७ बैशाख २०८१, सोमबार
(January 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रमेश महतोको सम्झनामा आज मधेश प्रदेशमा मनाइयो बलिदानी दिवस, तर अन्य प्रदेशमा मौनता

मधेशी आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा आज मधेश प्रदेशमा बलिदानी दिवस मनाइएको छ ।

तर अन्य प्रदेशमा खासै चर्चासम्म पनि भएको देखिएन । जवकी कोशी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा समेत मधेशी समुदायको उल्लेख्य बसोवास रहेका छन् ।

समावेशिता र संघीयता मधेशी आन्दोलनकै उपज मानिन्छ भने लोकसेवा आयोग समेत विभिन्न निकायमा रहेको समावेशी क्लष्टरको व्यवस्था पनि सोही आन्दोलनबाट भएको हो ।

नागरिक टाइम्सका सम्पादक तथा अधिकारकर्मी वीरेन्द्र केएमले बलिदानी दिवस मधेशी दल केन्द्रित निजि दिवस जस्तै बन्न पुगेको बताएका छन् ।

‘मधेशीको पहिचान समेत सोही आन्दोलनबाट स्थापति भएको थियो तर आज मधेशीहरुले उक्त कुरा बिर्सिसकेका छन्’ केएमले भने – ‘मधेशी कोटा पाउन मधेशीहरु जहाँपनि पुग्छन् तर आजको बलिदानी दिवस मनाउन लाज मान्छन् ।’

उनले भने – ‘बलिदानी दिवस बनाउनुपर्ने कर्तब्य मात्र मधेशकेन्द्रित दलको होइन, सबै मधेशीले यो दिवस बनाउनु पर्छ, नेपाल सरकारले नै आजको दिन बिदा दिनुपथ्र्यो ।’

उता, मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइएको छ । योसँगै प्रथम मधेशी आन्दोलनको १७ वर्ष पूरा भएको छ ।

२०६३ सालको माघ ५ गते हालको मधेश प्रदेश स्थित सिरहाको लहानमा आन्दोलनकारी रमेश महतो मृृत्युपछि प्रथम मधेशी आन्दोलनको सुरुवात भएको थियो ।

सहिद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दलहरुले प्रत्येक वर्ष बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

२०६३ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले काठमाण्डौमा अन्तरिम संविधानको प्रतिलिपि जलाएपछि मधेशी अधिकार केन्द्रित आन्दोलनको थालनी भएको थियो ।

माइतीघर मण्डलाबाट नेता यादव सहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि तराई मधेशक्षेत्रमा आन्दोलन चर्किएको थियो ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो प्रहरीको गोलीबाट मारिएपछि उनलाई मधेशी आन्दोलनको पहिलो सहिद घोषणा गरिएको थियो ।

बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: Jan 19, 2024

प्रतिक्रिया दिनुहोस्