Logo
२३ बैशाख २०८१, आईतबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशका मुख्यमन्त्रीहरूका हेटौँडामा भेला : संविधान बमोजिम अधिकार माग

सातै प्रदेशका मुख्यमन्त्रीहरू आज बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदै छन् । भेलाले सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ ।

यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए ।

तर त्यतिका समय बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै मुख्यमन्त्रीहरूले फेरि मोर्चाबन्दी कस्न लागेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएपछि बैठक बस्न लागेको बताए ।

हेटौँडा बैठकले यसअघिका निर्णय कार्यान्वयनका लागि अहिलेसम्म भएका कामको समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने उनले बताए ।

‘हामी बैठकले एउटा निष्कर्ष निकाल्छौँ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर हाम्रो चासोका विषयहरूमा ध्यानाकर्षण गराउँछौँ,’ मुख्यमन्त्री पाण्डेले भने ।

तर सङ्घ सरकारले ६ महिनाको अवधिमा ती निर्णय कार्यान्वयनको विषयमा कुनै कदम नचालेपछि मुख्यमन्त्रीहरू फेरि दबाब दिनुपर्ने अवस्थामा पुगेका हुन् ।

यसअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री दाहाललाई भेटेर अलग्गै रूपमा ज्ञापन पत्र बुझाएका थिए । उनले एक महिनाको समय दिएर अल्टिमेटम समेत घोषणा गरेका थिए । तर त्यसले समेत सङ्घीय सरकारलाई दबाबमा राखेको छैन ।

केही दिनअघि सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश स्तरमा सम्मेलनहरू गरेकोमा त्यहाँ पनि प्रदेशको अधिकारका विषयमा छलफल भएको थियो । त्यस क्रममा कांग्रेस नेताहरूले सङ्घले प्रदेशलाई अधिकार नदिए आन्दोलनमा उत्रिन समेत पछि नहट्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्