Logo
२५ बैशाख २०८१, मंगलबार
(October 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायल–प्यालेस्टाइन द्वन्द्वको ७५ वर्ष पुरानो इतिहास, ३५ एकड जमिनका लागि संघर्ष

७ अक्टोबरको रात जब दुनियाँ सुतिरहेको थियो, हमासले इजरायलको अनगिन्ती स्थानमा अचानक रकेट हमला गर्यो । हमासले पाँच हजारदेखि सात हजार रकेट प्रहार गरेको बताइन्छ ।

सो हमलामा ९ सयभन्दा बढी इजरायली मारिए । इजरायलले पनि जवाफी हमला गर्यो । इजरायलको हमलामा तीन सयभन्दा बढी प्यालेस्टिनी मारिए ।

३५ एकड जमिनका लागि युद्ध

सिङ्गो दुनियाँ कुल ९५ अर्ब २९ करोड ६० लाख एकड जमिनमा बसेको छ, जहाँ लगभग ८ अर्ब मानिस छन् । ९५ अर्ब २९ करोड ६० लाख एकड जमिनमध्ये केवल ३५ एकड जमिनको एउटा यस्तो टुक्रा छ, जसका लागि वर्षौंदेखि युद्ध हुँदै आएको छ । यो युद्धमा हजारौँको मृत्यु भइसकेको छ । तर आजसम्म पनि त्यो ३५ एकड जमिनको स्वामित्वको बारेमा संघर्ष रोकिएको छैन ।

हमास र इजरायलबिच भएको पछिल्लो युद्ध त्यही ३५ एकड जमिनको स्वामित्वकै विवादको पृष्ठभूमिमा भइरहेको छ । यही जमिनका लागि इजरायल र प्यालेस्टाइन एक आपसमा दुश्मन बनेका छन् ।

संयुक्त राष्ट्रसंघको अधिनमा छ त्यो भूभाग

यो युद्धलाई बुझ्नका लागि सबैभन्दा पहिला त्यो ३५ एकड जमिनको वास्तविकता बुझ्न जरुरी हुन्छ । जेरुशलममा ३५ एकड जमिनको टुक्रामा एउटा यस्तो ठाउँ छ, जसको सम्बन्ध तीन वटा धर्मसँग छ । यो स्थानलाई यहुदीहरु हर–हवाइयत या टेम्पल माउन्ट भन्छन् । जबकि मुस्लिमहरु यसलाई हरम अल शरीफ भन्ने गर्दछन् ।

कुनैबेला यो स्थान प्यालेस्टाइनको नियन्त्रणमा थियो । पछि यसलाई इजरायलले कब्जा गर्‍यो । तर टेम्पल माउन्ट या अल शरीफ, जे नामले पुकारे पनि यो स्थान संयुक्त राष्ट्रसंघको अधिनमा छ ।

७६१ वर्षसम्म मुस्लिमको कब्जामा थियो

सुरुमा इसाईहरुको कब्जामा रहेको यो स्थान सन् ११८७ मा मुस्लिमहरुले कब्जा गरे । त्यो बेलादेखि सन् १९४८ सम्म त्यहाँ मुस्लिमहरुकै कब्जा थियो ।

सन् १९४८ मा इजरायलको जन्म भयो । त्यसपछि भने उक्त जमिनको टुक्रालाई लिएर विवाद सुरु भयो । उक्त जमिनका बारेमा यहुदी, इसार्ई र मुस्लिम एक आपसमा लड्दै आएका छन् ।

मुस्लिमको दाबी

मुस्लिम मान्यता अनुसार मक्का र मदीनापछि हरम अल शरीफ उनीहरुको तेस्रो पवित्र स्थल हो । मुस्लिम धर्मग्रन्थ कुरानका अनुसार पैगम्बर मोहम्मद मक्काबाट उड्ने घोडा चढेर अल शरीफ पुगेका थिए र त्यहीँबाट उनी ‘जन्नत’ पुगे ।

यही मान्यताका आधारमा जेरुशलममा मौजुद हरम अल शरीफमा एक मस्जिद बनाइयो जसको नाम अल अक्सा मस्जिद हो । जेरुशलममा पुग्दा पैगम्बर मोहम्मदले पहिलो पाइला टेकेको ठाउँमै त्यो मस्जिद रहेको बताइन्छ ।

यहुदीहरुको दाबी

यहुदीहरु जेरुशलमको त्यही ३५ एकड जमिनमा टेम्पल माउन्ट रहेका कारण आफ्नो दाबी गरिरहेका छन् । उनीहरुको धर्मग्रन्थ अनुसार अब्राहमका दुई छोरा थिए– इस्माइल र इसहाक ।

अब्राहमसँग जब ‘खुदा’ले ‘कुर्बानी’ मागे, उनले इसहाक नाम गरेको छोरालाई ‘कुर्बान’ गर्ने फैसला लिए । तर, ‘फरिस्ते’ले इसहाकको ठाउँमा एउटा भेँडालाई राखिदिए । जुन स्थानमा यो घटना भएको थियो, त्यही स्थानलाई यहुदीहरु टेम्पल माउन्ट भन्दछन् । पछि इसहाकको एउटा छोरा जन्मियो, जसको नाम जेकब थियो । उसको अर्को नाम इजरायल थियो । इजरायलका १२ छोरा भए । यहुदीहरुको मान्यता अनुसार यिनकै सन्तानहरु मिलेर यहुदी देश बनेको थियो । सन् १९४८ मा इजरायलको दाबेदारीको आधार पनि यही थियो ।

इसाईको दाबी

इसाईहरुका अनुसार इसा मसिहले यही ३५ एकड जमिनबाट उपदेश दिएका थिए । यस जमिनमै उनी सुलीमा चढेका थिए । इसा मसिह फेरि जिउँदो भएर आउँदा यो भूमिको एक अहम् भूमिका रहने उनीहरुको विश्वास छ । त्यसैले मुस्लिम र यहुदीले जस्तै इसाईहरुले पनि यो भूमिलाई पवित्र मान्दछन् ।

प्यालेस्टाइन र इजरायलको कथा

सन् ११८७ भन्दा अघि केही समयसम्म हरम अल शरीफ या टेम्पल माउन्टमाथि इसाईको कब्जा थियो । सन् ११८७ मा हरम अल शरीफमाथि मुस्लिमले कब्जा गरे । त्यसपछि यसको पूरा जिम्मेवारी इस्लामिक ट्रस्टलाई दिइयो । सन् १९४८ सम्म इस्लामिक ट्रस्टले नै यसको जिम्मेवारी लिँदै आएको थियो । त्यतिबेलासम्म त्यहाँ गैर मुस्लिमको प्रवेश निषेध थियो ।

सन् १९४८ सम्म हरम अल शरीफ प्यालेस्टाइनको एक भाग थियो । जबकि त्यतिबेला पनि त्यहाँ केही यहुदी शरणार्थीका रुपमा रहँदै आएका थिए । तर त्यो बेला प्यालेस्टाइन अंग्रेजको अधिनमा थियो । सन् १९४८ मा अंग्रेजले प्यालेस्टाइन विभाजन गरिदिए । ५५ प्रतिशत जमिनको हिस्सा प्यालेस्टाइनले पायो भने ४५ प्रतिशत इजरायलको भागमा । त्यसपछि १४ मे १९४८ मा इजरायलले आफूलाई स्वतन्त्र राष्ट्र घोषित गर्‍यो र विश्वमा पहिलो पटक एक यहुदी देशको जन्म भयो ।

संयुक्त राष्ट्रसंघले निकाल्यो यो बाटो

त्यतिबेला पनि जेरुशलमलाई लिएर संघर्ष जारी थियो । किनकि इजरायल र प्यालेस्टाइन दुवैले जेरुशलमलाई आफ्नो राजधानी बनाउन चाहेका थिए । धार्मिक दृष्टिले जेरुशलम मुस्लिम र यहुदीको मात्र नभएर इशाइका लागि खास स्थल थियो ।

त्यसैले संयुक्त राष्ट्रसंघले एक प्रकारले प्यालेस्टाइनलाई फेरि विभाजन गर्‍यो । जस अनुसार जेरुशलमको ८ प्रतिशत हिस्सा संयुक्त राष्ट्रसंघको अधिनमा आयो । जबकि ४८ प्रतिशत जमिन प्यालेस्टाइन र ४४ प्रतिशत जमिन इजरायलको कायम भयो । जेरुशलमको ८ प्रतिशत हिस्सा त्यही ३५ एकड जमिनमा छ ।

व्यवस्थापनको जिम्मेवारी जोर्डनलाई

हरम अल शरीफ या टेम्पल माउन्टको जिम्मेवारी तेस्रो पक्ष अर्थात् जोर्डनलाई दिइयो । त्यहाँ यहुदी र मुस्लिमलाई बाहिरबाट दर्शन गर्न दिने गरी सम्झौता गरियो । तर दुवैतर्फबाट कट्टरपन्थीहरु उक्त सम्झौतालाई मान्दैनन् । परिणामस्वरुप अहिले पनि यहुदीहरु टेम्पल माउन्ट पुग्दा ढुंगामुढा हुने गर्दछ ।

प्यालेस्टाइनको अधिकांश भूभागमा इजरायलको कब्जा

यो सम्झौताका बाबजुद १९५६, १९६७, १९७३, १९८२ मा इजरायल र प्यालेस्टाइनबिच युद्ध भयो । लगातार इजरायलले प्यालेस्टाइनको भूभाग कब्जा गर्दै गयो । पहिला ५५ प्रतिशत भूभाग पाएको प्यालेस्टाइन ४८ प्रतिशतमा समेटियो, पछि गएर २२ प्रतिशत हुँदै हाल १२ प्रतिशत भूभागमा सीमित भएको छ । जबकि आधिकारिक रुपमा जेरुशलमलाई छाडेर इजरायलले बाँकी करिब ८० प्रतिशत भूभागलाई आफ्नो अधिनमा लिन सफल भइसकेको छ ।

अर्कोतिर इजरायलको सेनामा ७० हजार जवान र कयौँ अधिकारी छन् । इजरायली सेनामा अस्थायी फौजका रुपमा ३० लाखभन्दा बढी युवा छन् । इजरायलले विद्यालयमा पढ्ने छात्रछात्रालाई समेत सैन्य तालिम दिने गरेको छ ।

१९८७ मा भएको थियो हमासको गठन

प्यालेस्टाइनसँग आफ्नो कुनै सेना छैन, तर उसका लागि हमासले किन युद्ध गरिरहेको छ भन्ने प्रश्न स्वाभाविक रुपमा उब्जिन्छ । प्यालेस्टाइनी भूभागबाट इजरायली सेनालाई हटाउने उद्देश्यले १९८७ मा हमास गठन भएको थियो । हमासले अहिलेसम्म इजरायललाई मान्यता दिएको छैन । हमासले पूरै प्यालेस्टाइनी क्षेत्रमा इस्लामिक शासन कायम गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: Oct 11, 2023

प्रतिक्रिया दिनुहोस्