Logo
२४ बैशाख २०८१, सोमबार
(September 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फाको गतिरोधले सिंगो नेपाली फुटबल निराश : एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष राई

२०५२ सालमा नेपाली फुटबलको विकासका लागि गणेश थापाको अध्यक्षतामा जिल्ला जिल्लामा पहलकदमी गरेर नेपाली फुटबललाई राजधानीबाहिर लान पहल गरेको स्मरण गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले जारी गतिरोधले सिंगो नेपाली फुटबल निराश भएको बताएका छन् ।

कोशी प्रदेश फुटबल संघका अध्यक्षसमेत रहेका राईले मंगलबार ‘फिफा कनेक्ट’ कार्यशालामा बोल्दै वर्तमान कार्यसमितिलाई काम गर्न दिनुपर्ने धारणा राखे ।

‘सिंगो नेपाली फुटबलका लागि, आउने भविष्यका लागि तपाईं–हामीले चुनेर २१ जना पठाएका होइन र ? यतिखेर २१ जना एक ठाउँमा भेला भएर सिंगो नेपाली फुटबललाई अब कतातिर लाने निकास दिनुपर्ने होइन र ?’ राई प्रश्न गरे । गणेश थापाको नेतृत्वले निर्माण गरेको नेपाली फुटबलको साख र काम भन्दा एन्फा अघि नबढेको हो कि ? भन्ने राईले आशय व्यक्त गरे ।

उनले जिल्ला फुटबल संघहरु गठन गर्दै फुटबलको विकासमा अघि बढेको बताए । आमूल परिवर्तनको अपेक्षा लिई, भिजन र मिसन लिएर प्रक्रियाअनुसार निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वलाई यसअघि साथ दिएको राईले बताए ।

‘अहिले वर्तमान अध्यक्ष पंकज नेम्वाङको नेतृत्वमा फुटबलले एक वर्ष पार गरेको छ । दोस्रो वर्षको समग्र कार्यक्रम बनाएर हामीले त्यो कार्यक्रम कार्यान्वयन गर्ने क्रममा सफल बनाउनका लागि फिफाको फण्डिङबाट, डोमेस्टिक फण्डिङबाट र फुटबललाई माया गर्ने, प्रायोजन गर्ने निकायबाट सहयोग प्राप्त गरी अनुमानित बजेटको तयारी भइरहेका बेला यस्तो खाले कुरा आयो’, राईले भने, ‘गत आर्थिक वर्षको बजेटलाई वैधानिकता दिनका निम्ति प्रक्रियागत रुपबाट लेखा परीक्षक नियुक्त गर्ने सिंगल एजेण्डा, कुनै किसिमको राजनीतीकरण बिना, व्यक्ति विशेषको आग्रह बिना त्यसलाई वैधानिकता दिने एजेण्डाका लागि बैठकको आयोजना गर्ने क्रममा म पनि केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षका हिसाबले मसँग पनि सरसल्लाह भयो र हामीले वैधानिक तरिकाले अगाडि बढाउन सल्लाह दिएका हौं ।’

कार्यसमितिविरुद्ध अविश्वासको प्रस्ताव आउनु र बोलाइएको साधारण सभा रोकिनु दुःख लाग्दो अवस्था भएको राईले बताए । ‘हामीले एक वर्ष बिताइसक्यौं । नेपाली फुटबलको प्राथमिकतामा राख्नु पर्ने एजेण्डा भनेको लिग हो । राष्ट्रिय लिग बिना कुनै पनि देशको फुटबल अगाडि बढ्दैन । हाम्रो राष्ट्रिय लिगको मोडल हेर्नुस् त ।’ मानार्थ वरिष्ठ उपाध्यक्ष राईले भने, ‘कर्माजीको पालामा ४ वर्षमा २ वर्ष लिग भयो । पंकजजीको पालामा आएकै वर्ष अप्ठ्याराका बावजुद पनि, हुँदैन–हुँदैन भन्दा पनि त्यसलाई उहाँले सम्पन्न गर्नुभयो । लिगको मोडालिटी हिजो हामीले अंगिकार गरेको सहिद स्मारकबाट आएका ६ वटा राष्ट्रिय टिम र जिल्लाबाट प्रदेश लिग हुँदै प्रेसिडेन्ट कपमार्फत् ४ वटा टिम । यी १० टिमको लगभग होम एण्ड अवेको अवधारणाअनुसार हामीले कम्तिमा ६ महिनाको फुटबल दिनुपर्छ भन्ने हाम्रो निर्णय थियो ।’

‘कर्माजीलाई हामीले बारम्बार भनेका थियौं ९० मिनेटमा कुदेर मात्र हुँदैन कसैलाई बल पास गर्न सकिदैन भने कुदेको अर्थ हुँदैन । उहाँलाई त्यही बेला भनेका थियौं । फिफा र एफसीको मात्र भर नपरौं । हामीले डोमेस्टिककै संरचनामा आर्थिक पाटोमा ध्यान दिएर ए, बी, सी लिगलाई विशेष खाल्को बनाऔं । राष्ट्रिय लिगसँगै प्रादेशिक लिगलाई ध्यान दिऔं भनेका थियौं ।’ राईले भने । मानार्थ वरिष्ठ उपाध्यक्ष राईले जारी गतिरोधले नेपाली फुटबललाई कतै पनि नपुर्याउने धारणा राखे ।

बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै प्रस्ताव दर्ता गराएपछि जिल्लाजिल्लामा फुटबलको व्यावसायिकताप्रति अविश्वास उत्पन्न भएको छ ।

८६ सदस्यीय साधारण सभाका ४९ जनाले हस्ताक्षर गरेर अध्यक्ष–महासचिवको बर्खास्ती माग गरेका छन् । एन्फा कार्यसमिति र साधारणसभा दुवैमा अध्यक्ष नेम्वाङ स्पष्ट अल्पमतमा परेका छन् । यसले उनीमाथि नैतिक संकट उत्पन्न भएको छ ।

एन्फा विधानको धारा ४१ मा अध्यक्षको बर्खास्तीसम्बन्धी व्यवस्था छ । त्यस बमोजिम साधारण सभाबाट बर्खास्तीको प्रस्ताव पारित हुन उपस्थितिको दुई तिहाइको समर्थन चाहिन्छ । यदि सबै थप ७ जना सदस्य जुटाए एन्फा अध्यक्ष पदमुक्त हुनेछन् । बर्खास्तीको प्रस्ताव पेश गरिएको ३० दिनभित्र साधारण सभा बोलाउनुपर्ने प्रावधान रहेको छ । साधारणसभाले मतदानबाट निर्णय लिन्छ ।

कार्यसमितिका उपाध्यक्षलगायतले भने एन्फा पछिल्लो अवस्थासम्म आइपुग्नुको मुख्य जिम्मेवार नेतृत्व नै भएको अभिव्यक्ति दिँदै आइरहेका छन् ।

प्रकाशित मिति: Sep 12, 2023

प्रतिक्रिया दिनुहोस्