Logo
५ जेष्ठ २०८१, शनिबार
(July 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले दियो भारतलाई एक सय ६८ रनको लक्ष्य

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले भारतको ‘ए’ टोलीलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । खेल श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भइरहेको छ ।

नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो । पालीको निराशाजनक सुरुआत गरेको नेपाली टोलीले ३९.२ ओभरमै अलआउट हुनुअघि १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमाएको थियो । उनको विकेट निसान्त सिन्धुले लिए । ललितको क्याच सिन्धु आफैले लिएका थिए । किशोर महतो दुई रनमा अविजित रहे ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए । नेपालले अतिरिक्त रुपमा १३ रन पाएको थियो । भारतका बलर निसान्त सिन्धुले चार विकेट लिए । राजबद्र्धन हंगारगेकरले तीन विकेट हात पारे । हर्षित राणाले दुई विकेट लिए । अर्को एक विकेट मानव सुथारले हात पारे । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । उनी शून्य रनमै पेभेलियन फर्किए । उनी आउट हुँदा नेपालले खातासम्म खोलेको थिएन । उनी भारतीय बलर हर्षित राणाको बलमा एलबीडब्लू आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनी सात रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनलाई राजबद्र्धन हंगारगेकरले विकेटकिपर ध्रुव जुरेलमार्फत क्याच गराए । ५.१ ओभरमा आसिफ आउट हुँदा नेपालको स्कोर २७ रन थियो । तेस्रो विकेटका रुपमा नेपालले देव खनाललाई गुमाएको थियो । आउट हुनुअघि उनले २१ बलमा तीन चौकाको मद्दतले १५ रन बनाएका थिए । उनको विकेट पनि राजबद्र्धनले नै लिए । राजबद्र्धनले उनलाई रियान परागद्वारा क्याच गराएका थिए । देव आउट हुँदा नेपालले ७।२ ओभरमा ३० रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको थियो । भीम चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई हर्षित राणाले बोल्ड गरेका हुन् । भीम आउट हुँदा नेपालले ८.५ ओभरमा ३५ रन बनाएको थियो । नेपालले पाँचौं विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनले खातासम्म खोल्न पाएनन् । उनललाई राजबद्र्धन हंगारगेकरले अभिषेक शर्माद्वारा क्याच गराएका हुन् । कुशल मल्ल आउट हुँदा नेपालले ९.६ ओभरमा ३७ रन बनाएको थियो ।

छैटौं विकेटका रुपमा नेपालका सोमपाल कामी आउट भएका थिए । उनले ३९ बलको सामना गरी १४ रन बनाएका थिए । उनी मावन सुथारको बलमा एलबीडब्लू आउट भएका हुन् । छैटौं विकेटका लागि कप्तान रोहित पौडेल र सोमपालले ५३ रनको साझेदारी गरे । सोमपाल आउट हुँदा नेपालले २३.६ ओभरमा ९० रन बनाएको थियो । नेपाली टोलीका कप्तान रोहित पौडेल सातौं विकेटका रुपमा ६५ रन बनाउँदै पेभेलियन फर्किए । उनले ८५ बलको सामना गरी सात चौका हिर्काएका थिए । उनको विकेट निशान्त सिन्धुले लिएका थिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराए । रोहित आउट हुँदा नेपालले ३३.२ ओभरमा एक सय ४४ रन बनाएको थियो ।

त्यसअघि रोहितले २८ औं ओभरमा अर्धसतक पूरा गरेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् । उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका थिए । रोहित र गुल्सन झाले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । नेपालले आठौं विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । उनले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाएका थिए । उनको विकेट निसान्त सिन्धुले लिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराएका थिए । गुल्सन आउट हुँदा नेपालले ३५.१ ओभरमा एक सय ६२ रन बनाएको थियो ।

नवौं विकेटका रुपमा नेपालले पवन सर्राफलाई गुमाएको थियो । पवन ६ रन बनाउँदै आउट भएका थिए । उनलाई निसान्त सिन्धुले राजबद्र्धन हंगारगेकरद्वारा क्याच गराएका थिए । पवन आउट हुँदा नेपालले ३७.२ ओभरमा एक सय ६३ रन बनाएको थियो ।

प्रकाशित मिति: Jul 17, 2023

प्रतिक्रिया दिनुहोस्