Logo
५ जेष्ठ २०८१, शनिबार
(July 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी इमर्जिङ टिम्स एसिया कप : सन्दीप र दीपेन्द्रपछि आरिफ पनि टोलीबाट बाहिरिए

नेपाली टोलीका अलराउन्डर आरिफ शेखले यसैसाता श्रीलंकामा सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आरिफलाई पनि समावेश गरिएको थियो । आरिफले घरायसी समस्याका कारण प्रतियोगिता नखेल्ने निणर्य लिएका हुन् । अलराउन्डर आरिफ तल्लोक्रमका भरपर्दा ब्याट्सम्यान पनि हुन् । आरिफले नखेल्ने भएपछि उनको स्थानमा पवन सर्राफलाई टोलीमा समावेश गरिएको छ ।

इमर्जिङ टिम्स एसिया कप आगामी बिहीबार श्रीलंका सुरु हुँदैछ । आरिफले हालसम्म देशका लागि ४७ वटा एकदिवसीय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय प्रतियोगितामा ६ वटा अर्धसतकको मद्दतले आठ सय ७८ रन बनाएका छन् ।

एकदिवसीय प्रतियोगितामा उनको उच्च स्कोर भने ६६ रन हो । एकदिवसीय प्रतियोगितामा आरिफले ६ वटा विकेट पनि लिएका छन् । हालै जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा पनि आरिफ टोलीमा थिए ।

इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स ९यूएई० रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ ।

समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । प्रतियोगिताको दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुनेछ ।

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सरार्फ, आसिफ शेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीले इमर्जिङ टिम्स एसिया कप नखेलेका हुन् ।

सन्दीप र दीपेन्द्र क्यानडामा आयोजना हुने फ्रेन्चाइज लिग ‘ग्लोबल टीट्वान्टी’ मा आबद्ध छन् । ग्लोबल टीट्वान्टी लिग जुलाई २० देखि अगस्त ६ तारिखसम्म आयोजना हुँदैछ । उक्त लिगमा सन्दीप सरे जग्वार्स क्लबमा आबद्ध छन् । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्धित गरेको छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको यो पाँचौं संस्करण हो । नेपाल एसीसी प्रिमियर कपको विजेताका रुपमा इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो । एसीसी प्रिमियर कपको अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोली इमर्जिङ टिम्स एसिया कपमा छनोट हुने प्रावधान छ ।

नेपालमा आयोजना भएको एसीसी प्रिमियर कपबाट नेपालका अतिरिक्त यूएई र ओमान पनि इमर्जिङ टिम्स एसिया कपमा छनोट भएका थिए । इमर्जिङ टिम्स एसिया कपका लागि नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेका छन् । श्रीलंका, ओमन र यूएईले भने आफ्नो टोलीको घोषणा गर्न बाँकी छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको चौथो संस्करण सन् २०१९ मा बंगलादेशमा आयोजना भएको थियो । त्यतिबेला प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको थियो । पाकिस्तानको यू—२३ टोलीले फाइनलमा बंगलादेशको यू—२३ टोलीलाई ७७ रनले हराएको थियो । भारतको यू—२३ टोली भने सेमिफाइनलमा पाकिस्तानसँग तीन रनले पराजित भएको थियो ।

उक्त संस्करणमा नेपालले समूहगत चरणमा एउटा खेलमात्र जितेको थियो । नेपालले हङ्कङलाई ४० रनले हराएको थियो । समूहगत चरणको अन्य खेलमा नेपाली टोली भारतसँग सात विकेट र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: Jul 10, 2023

प्रतिक्रिया दिनुहोस्