Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेदरल्यान्ड्सलाई पराजित गर्न सके नेपालको सुपर-सिक्स सम्भावना उच्च

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले सुरूवाती तीन खेल मध्ये दुई खेलमा हार बेहोरेको छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो । यहि जितका कारण नेपालको सुपर-सिक्स सम्भावना कामयै बनेको थियो ।

तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो ।

अब नेपालले शनिबार समूहको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर-सिक्स नजिक छन् ।

यो अवस्थामा एक-एक खेलमा जित निकालेका नेदरल्यान्ड्स र नेपाल यो समूहबाट सुपर-सिक्समा पुग्ने तेस्रो टिम बन्ने समिकरण छ । किनभने लगातार तीन खेलमा पराजित भएको अमेरिका समूह चरणबाटै बाहिरिसकेको छ ।

सुपर सिक्समा पुग्नका लागि भोलिको खेलमा नेपाल र नेदरल्यान्ड्सका लागि फाइनल सरह हुनेछ ।

भोलि नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको अवस्थामा नेपाल सुपर-सिक्समा नपुग्ने एउटा अवस्था भने बाँकी नै हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरे नेपाल सुपर-सिक्स नपुग्न सक्छ । त्यतिबेला रनरेटको आधारमा सुपर-सिक्स तय हुनेछ । अहिलेको अवस्थामा नेपालको भन्दा नेदरल्यान्ड्सको राम्रो रनरेट छ ।

नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन् ।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित मिति: Jun 23, 2023

प्रतिक्रिया दिनुहोस्