Logo
२८ बैशाख २०८१, शुक्रबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरुद्ध चलचित्र संघ पुग्यो अदालत

काठमाडौँ महानगर भित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निर्णय विरुद्ध चलचित्र सङ्घ अदालत पुगेको छ । सङ्घले बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । सङ्घको मुद्दा दर्ता गरिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए ।

‘महानगरपालिकाले आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णय गरेको रहेछ । त्यसविरूद्ध नेपाल चलचित्र सङ्घले आदिपुरुष मात्रै प्रतिबन्ध लगाउँदा ठिकै थियो । तर सबै हिन्दी फिल्म बन्द गर्न मिल्दैन भनेर उजुरी दिनु भएको छ’, कट्टेलले भने, ‘हामीले उजुरी दर्ता गरेका छौ । त्यसको भोलि सुनुवाइ होला ।’

सङ्घका कानुनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीमार्फत उजुरी दर्ता गरिएको हो । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दर्ता भएको छ ।

व्यक्तिगत कुरामा अल्झिनु भन्दा कानुनी बाटो खोज्ने उद्देश्यले मुद्दा दर्ता गरेको चलचित्र सङ्घका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए । निषेध ‘आदिपुरुष’ का लागि मात्र भए केही थिएन । महानगरले सबै हिन्दी फिल्म रोकेको छ’, कायस्थले भने, ‘त्यो महानगरको क्षेत्रभित्र पर्छ कि पर्दैन । अब त्यो पनि थाहा हुन्छ ।’ आफूहरूले व्यवसाय गर्न पाउने भन्दै अदालतमा पुगेको कायस्थको भनाई छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए ।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्