Logo
६ जेष्ठ २०८१, आईतबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ ।

खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२:४५ बजे सुरु हुनेछ ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ ।

सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने ।

पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए । यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए ।

सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ ।

नेपाल र अमेरिकाबीच भएका पछिल्ला ६ एकदिवसीय खेल मध्ये नेपाल तीन र अमेरिका दुई खेलम विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमरिकालाई पराजित गरेको थियो ।

त्यसपछि ओमानमा २०२१ मा भएको दुई मध्ये नेपाल र अमेरिकाले एक एक खेलमा जित निकालेका थिए ।

अमेरिकामा २०२२ मा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिदा अर्को खेलमा अमेरिका वियजी भएको थियो ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् ।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।

आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन् ।

 

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्