Logo
६ जेष्ठ २०८१, आईतबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नातिलाई छोरा बनाएर नागरिकता बनाइदिएपछि बाजे र साक्षी सहित ८ जना पक्राउ

लुम्बिनी प्रदेश स्थित नातिलाई आफ्नो छोरा बनाएर नागरिकता बनाइदिएको अभियोगमा दाङमा ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका- ५ सिमलखुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमले जानकारी दिए।

ज्ञान बहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय, दाङमा परेपछि प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरेको हो।

उनले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाइ जन्मदर्ता बनाएको प्रहरीको भनाइ छ। जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिससमेत दिएको थियो।

त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ। डिएसपी गौतमका अनुसार राजपुर गाउँपालिका ५ का वडाअध्यक्ष टंकबहादुर विष्ट र वडा सचिव फरार रहेका छन्।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए। नागरिकता बनाइदिने ज्ञानबहादुर विकलाई जेठ २५ गते पक्राउ गरिएको थियो।

त्यसपछि नागरिकता लिने विवेक विक जेठ २८ मा पक्राउ परेका थिए भने बाँकी ६ जनालाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिइन्।

यता, दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पछि अदालतको निर्णय अनुसार किर्ते गरी लिएको नागरिकता रद्द गर्ने र दोषीलाई कानुन बमोजिमको सजाय हुने जानकारी दिए।

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्