Logo
६ जेष्ठ २०८१, आईतबार
(May 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।

खाँण पक्राउ परेलगत्तै देउवाले खाँण निकटका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यसपछि शीर्ष नेताहरुसँग देउवाले छलफल गरेका थिए । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन ।

महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् । बुधबार पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बसेर निर्णय गर्ने भनेर नेताहरु देउवा निवासबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: May 11, 2023

प्रतिक्रिया दिनुहोस्