Logo
६ जेष्ठ २०८१, आईतबार
(May 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले खोजे जनयुद्धमा जस्तै जनताको साथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् ।

मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । ‘त्यसका लागि तपाईँहरूबाट हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईँहरूसँग अपिल गर्न चाहन्छु, सहयोग गर्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको पनि बताए । ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै आसन्न भारत भ्रमणमा बिद्युत् बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको जानकारी दिँदै यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको बताए ।

‘जुनजुन प्रदेश हिजोको राज्यबाट पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु’, प्रधानमन्त्रीले भने, ‘काठमाडौँ वरिपरि नै भएपनि हिजोको राज्यसत्ताले पछाडि पारेका क्षेत्रहरु अर्थात पालिकाहरुलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिबद्धता छ । त्यही प्रतिबद्धता अन्तर्गत नै अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरु ओहिरिने छन् ।’

प्रकाशित मिति: May 9, 2023

प्रतिक्रिया दिनुहोस्