Logo
६ जेष्ठ २०८१, आईतबार
(May 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने तयारी

नेपाली कांग्रेसले नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दललाई आज पूर्णता दिने तयारी गरेको छ । आज बेलुकासम्म नेविसंघ र तरुण दलको तदर्थ समितिलाई पूर्णता दिने कांग्रेस पदाधिकारीहरुबीच आन्तरिक तयारी भइरहेको छ ।

नेविसंघ र तरुण दललाई पूर्णता दिन बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो ।

सहमहामन्त्री महेन्द्र यादवले आज साँझसम्म नेविसंघ र तरुण दलसहित भ्रातृ संस्थाहरुलाई पूर्णता दिइने बताए । उनका अनुसार बिहीबारको बैठकले नाम सङ्कलन भइसकेका भ्रातृ संस्थाहरूको पूर्णता दिँदै जाने निर्णय गरेको छ ।

उनले भने, ‘आज अपराह्न चार बजे पदाधिकारी बैठक बसेर भ्रातृ संस्थालाई पूर्णता दिने काम हुन्छ । मुख्यतः नेविसंघ र तरुण दलमा नाम सङ्कलनको भएको छ । यसलाई पूर्णता दिएर अगाडि जान्छौँ ।’

गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो ।

बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ र साउन २६ मा नेपाल महिला सङ्घमा सभापति मनोनीत गरेका थिए । बाँकी भ्रातृ संस्थामा नेतृत्वसमेत आएको छैन ।

तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मङ्सिरमा आम निर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृ संस्थाले पूर्णतासम्म नपाएपछि महाधिवेशन अन्योल बन्यो ।

यता नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल ठाकुर समाज, नेपाल थारु सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल भूतपूर्व सैनिक सङ्घमा एक वर्षदेखि नेतृत्वसमेत छैन ।

सभापति देउवाले यी भ्रातृ संस्थाको नेतृत्व पनि आजै ल्याउने सम्भावना रहेको सहमहामन्त्री यादवले बताए । यादवका अनुसार नाम सङ्कलन भएपछि क्रमिक रूपमा बाँकी भ्रातृ समिति गठन र विस्तार हुने छ ।

यस्तै कांग्रेसका सभापति देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेको उनले बताए । कांग्रेसमा विधानतः २८ वटा विभागको व्यवस्था छ । ती विभागमा ५१ जना सदस्य राख्न सकिने प्रावधान छ ।

संयोजक, उपसंयोजक, सचिवसमेत गर्दा एउटै विभागमा ५४ जना नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था छ । सबै विभागलाई पूर्णता दिँदा १५ सय १२ जना नेता कार्यकर्ताले जिम्मेवारी पाउने देखिन्छ । विभागको कार्यक्षेत्र हेरी विशेषज्ञ संलग्न गराई विभिन्न एकाइ, उपसमिति वा कार्यदल गठन गर्न सकिने विधानमा व्यवस्था छ ।

विशेष गरी सङ्गठन, अन्तर्राष्ट्रिय सम्बन्ध, संवैधानिक कानुन तथा संसदीय मामिला, सङ्घीय मामिला तथा स्थानीय तह, सूचना, सञ्चार तथा प्रचार, पेसागत तथा बुद्धिजीवी विभाग लगायतमा नेताहरू आकर्षण छ ।

भाषा, साहित्य, कला तथा संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधि, गैर सरकारी संस्था तथा सामाजिक सेवा, अनुगमन, मूल्याकंन तथा अभिलेख, उद्योग तथा वाणिज्य, पर्यटन विभाग, कृषि तथा भूमिसुधार, युवा तथा खेलकुद विभाग, प्राकृतिक स्रोत र जल तथा ऊर्जा विभाग रहेका छन् ।

यस्तै शान्ति, सुरक्षा तथा प्रशासन सेवा, श्रमिक तथा ट्रेड युनियन,जनसम्पर्क समिति समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन विभाग, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप स्वास्थ्य, वन, वातावरण तथा विपद् व्यवस्थापन, महिला, लैङ्गिक समता, सामाजिक सुरक्षा एवं कल्याण, आर्थिक नीति तथा योजना, भौतिक पूर्वाधार, निर्माण तथा यातायात, अन्य पार्टी सम्पर्क, सहकारी, भ्रातृ सङ्घ समन्वय र शुभेच्छुक संस्था समन्वय विभागमा नेतृत्व ल्याउने तयारी छ ।

उनले भने, ‘नयाँ साथीहरूलाई पनि जिम्मेवारी दिने हो । कार्यसम्पादन समिति सदस्यलाई पनि विभागीय प्रमुखको जिम्मेवारी दिने कुरा भएको छ ।’

सभापति देउवाले केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिलाई पनि पूर्णता दिन संवाद थालेको उनको भनाइ छ ।

गत मङ्सिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ ।

१४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनीत गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारी मात्र छन् । सभापति देउवाले बाँकी सदस्य मनोनीत गर्न छलफललाई तीव्रता दिएको यादवले बताए ।

प्रकाशित मिति: May 5, 2023

प्रतिक्रिया दिनुहोस्