Logo
६ जेष्ठ २०८१, आईतबार
(May 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह नेतृत्वलाई मिलाउनुपर्छ भन्दै इन्द्रजित राईले असुलेका थिए ५ करोड : प्रहरी

भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । ‘विभिन्न स्थानमा पटक–पटक गरेर रकम बुझेको खुलेको छ, उनले तत्कालीन गृहसचिव र गृहमन्त्रीसम्म मिलाउने भनेका छन्’, प्रहरी स्रोत भन्यो, ‘अन्य व्यक्तिको संलग्नताबारे उहाँको बयानपछि र थप अनुसन्धानपछि स्पष्ट होला ।’

बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । प्रहरीका अनुसार दुलाल र भण्डारीको पूर्वगृहमन्त्री बादलका सल्लाहकार राईसँग सम्बन्ध थियो । राई मंगलबार बिहान ललितपुरबाट पक्राउ परेका छन् ।

‘दुई जनाले राईमार्फत भुटानी शरणार्थी सम्बन्धी गोप्य दस्तावेज र विवरण समेत पहिल्यै हात पारेको पाइएको छ’, प्रहरी स्रोत भन्छ, ‘यसमा संलग्न थप केही व्यक्तिको पनि खोजी भइरहेको छ ।’

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन ।

अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो ।

अधिकृतहरुका अनुसार त्यसबेला गिरोहले तत्कालीन गृहसचिव प्रेमकुमार राई, पछि महेश्वर न्यौपाने लगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम असुली गरेको थियो । त्यसबारे अनुसन्धान जारी रहेको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति: May 2, 2023

प्रतिक्रिया दिनुहोस्