Logo
२ जेष्ठ २०८१, बुधबार
(March 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचुनावको विषयमा छलफलका लागि जसपाको बैठक

जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको छ ।

आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा २ मा हुने उप निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय छ । त्यसको आधिकारिक निर्णय हुन बाँकी छ । क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारको विषयमा निर्णय भएर आउनुपर्ने हुन्छ ।

बारा २ बाट पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने लगभग निश्चित छ, तर औपचारिक निर्णय हुन बाँकी छ, जसपा बारा जिल्ला समितिका अध्यक्ष रामबाबु यादवले भने, ‘उपेन्द्र यादवजीको विषयमा हामीले चाँडै निर्णय गर्दैछौं, आज जिल्लामा बैठक बोलाएको छौँ सो बैठकले उम्मेदवारको बारेमा छलफल गर्नेछ ।’

बारा–२ बाट उपेन्द्र यादव चुनाव लड्ने भएपछि पार्टीका अन्य नेताले हालसम्म कुनै दाबी नगरेको उनले बताए ।

बैठकमा मन्त्रीपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा छलफल हुने बताइएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ, मन्त्रीमा कसलाई पठाउने, कति जना पठाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

पार्टीमा मन्त्रीका आकाङ्क्षी धेरै देखिएका छन् । त्यसलाई कसरी टुगों लगाउने पार्टीमा चुनौती देखिएको छ । मन्त्रालय भागबन्डामा जसपाले दुईटा मन्त्रालय पाउने सम्भावना देखिएको छ ।

चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय पार्टीले गरिसकेको छ । विधान संशोधनको मस्यौदा पनि तयार भइसकेको छ । त्यसमा सुझाव लिने काम पनि पार्टीमा भइरहेको छ ।

विधान अधिवेशनका लागि मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । हिजो बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन (लजिस्टिक) उपसमिति, स्वयंसेवक परिचालन उपसमिति गठन गरेको हो ।

विजय कुमार यादव संयोजक रहेको आर्थिक उपसमितिमा विद्युत् बज्राचार्य सहसंयोजक रहेका छन् । सदस्यहरुमा आङ्डेण्डी शेर्पा, आङकाजी शेर्पा, सरोजकुमार यादव, राजेशमान श्रेष्ठ रहेका छन् ।

प्रचार प्रसार उपसमितिको संयोजकमा अर्जुन थापा, सह संयोजकमा न्हुच्छेलाल महर्जन रहेका छन् ।

भोजन, आवास तथा हल व्यवस्थापन उपसमितिको संयोजकमा सुशीला श्रेष्ठ र सहसंयोजक लालबहादर तामाङलाई जिम्मेवारी दिइएको छ ।

स्वयंसेवक परिचालन उपसमितिको संयोजक विद्युत् बज्राचार्य र सहसंयोजक तारा विश्वकर्मा रहेका छन् । युवा, विद्यार्थी, महिला, ट्रेड युनियन लगायतका जनसङ्गठनका अध्यक्षहरू र बागमती प्रदेश समिति र काठमाडौँ जिल्ला समितिका प्रतिनिधिहरू उपसमितिको सदस्य रहने छन् ।

 

प्रकाशित मिति: Mar 22, 2023

प्रतिक्रिया दिनुहोस्