Logo
१७ बैशाख २०८१, सोमबार
(February 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री बन्न दौडधुप : अर्थ र भौतिकमा एकीकृत समाजवादीले दावी गर्ने

पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।

नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रिविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफु नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरुले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आठ दलीय गठबन्धनका शीर्ष नेताहरुमा सामान्य छलफल भएपनि ठोस छलफल अघि बढिसकेको छैन ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले पनि गठबनधनका कुन कुन दल सरकारमा सहभागी हुने र ककसले कुन मन्त्रालय पाउने भन्ने छलफल सुरु नै नभएको बताए । ‘त्यसबारे छलफलको सुरुवात नै भएको छैन’, बस्नेतको भनाइ छ ।

समाजवादीले अर्थ दावी गर्ने

आठ दलीय गठबन्धनमध्येको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि अर्थसहित भौतिक योजना मन्त्रालय दावी गर्ने तयारी गरेको अध्यक्ष माधवकुमार नेपाल निकट स्रोतले जनाएको छ ।

‘हामी यो सरकारमा जाने निश्चित छ । तर कुन कुन मन्त्रालयसहित जाने भन्ने कुरा प्रधानमन्त्रीसँग छलफल भएपछिमात्रै थाहा हुन्छ । हाम्रो तर्फबाट अर्थ र भौतिक मन्त्रालयमा दावी रहन्छ’, अध्यक्ष नेपाल निकट स्रोतले रातोपाटीसँग भन्यो,‘अर्थ र भौतिकसहित २ वटा मन्त्रलायमा हामी दावी गर्ने तयारीमा छौ ।’ एमालेले सरकार छोडेपछि अर्थ खाली छ भने भौतिक माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन् । पछिल्लो समिकरणपति श्रेष्ठलाई गृहमा पठाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको बुझिएको छ ।

एकीकृत समाजवादीबाट सरकारमा जाँदा कसको नेतृत्वमा जाने भन्ने पार्टीभित्र छलफल भइनसकेको उपमहासचिव जगन्नाथ खतिवडा बताउँछन् ।

‘त्यसबारे छलफल नै भएको छैन’, खतिवडाको भनाइ छ । तर उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालामध्ये एकले पार्टीबाट सरकारको नेतृत्व गर्ने सम्भावना रहेको नेताहरुको भनाइ छ । पाण्डे वागमती प्रदेशको मुख्यमन्त्री ज्वाला कर्णाली प्रदेशको अर्थमन्त्री भैसकेका छन् । त्यो बाहेक महासचिव बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउनुपर्ने मत पनि पार्टीमा उठ्न थालेको केही नेताहरु बताउँछन् ।

प्रकाशित मिति: Feb 28, 2023

प्रतिक्रिया दिनुहोस्