Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस –एमालेबीच सत्ता सहकार्य नहुने

आगामी नयाँ सरकार निर्माणमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस–एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।

वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबीच सरकार बनाउने विषयमा छलफल भइरहेकाले उनीहरूले नै सरकार बनाउन सक्ने धारणा राख्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भन्नुभयो– ‘नीति, विचार र सिद्धान्त नै फरक भएका संसद्का प्रतिस्पर्धी दलहरूबीच सरकारमा सहकार्य हुने कुरा मनोगत कुरा हुन् ।

विपरीत विचार भएका प्रतिस्पर्धी शक्ति मिलेर सरकार बनाउने सिद्धान्तहीन तर्क हो । यो मिल्दैन, मिल्नुको औचित्य छैन ।’ उहाँले गठबन्धन दलहरूबीच भागबण्डामा कुरा मिलेन र सरकार बनाउने प्रयास असफल भयो भने मात्र एमालेको नेतृत्वमा कम्युनिस्ट वामपन्थीहरूको सरकार बन्ने बताउनुभयो ।

यद्यपि, राष्ट्रियताको सवालमा र ठूला मुद्दामा एमाले कांग्रेस मिलेर निर्णय गर्दै आएको र आवश्यक पर्दा भोलिका दिनमा पनि एकै ठाउँ रहन सक्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘तर सरकार बनाउनकै लागि र कुनै व्यक्तिलाई पटक–पटक सत्तामा राखेर राज्यको ढुकुटी दोहन गराउनकै लागि एमालेले कांग्रेससँग सत्ता सहकार्य गर्नु उपर्युक्त हुँदैन ।’

नयाँ सरकारको स्थायित्वका लागि कांग्रेस र एमाले सम्मिलित सरकार बन्नुपर्ने भन्दै केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेससँग छलफल गर्न सुझाव दिएका शेरधन राईले आफ्नो प्रस्ताव दोहो¥याउनुभएको छ । राईको प्रस्तावलाई सत्ता गठबन्धनका नेताहरूले गठबन्धन दलहरूबीचको सम्बन्धमा दरार ल्याउन अघि सारिएको रणनीतिका रूपमा लिएका छन् । गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले बैठक बसेर सत्ता गठबन्धनलाई कायमै राखेर जाने निर्णय गरिसकेका छन् ।

उसो त सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका गठबन्धनका शीर्ष नेतृत्वले निर्वाचन परिणामले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेका छन् । उनीहरूले गठबन्धनकै सरकार बन्ने दाबीसहित अन्य दलहरूलाई समेत मनाउन गृहकार्य गरेका छन् । एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समेत एमालेसँगको सहकार्य अन्त्य भएको घोषणा गरेपछि एमालेलाई सरकार बनाउन चुनौती थपिएको छ ।

यसैबीच कांग्रेसले पनि एमालेसँगको सत्ता सहकार्य अहिलेकै अवस्थामा नहुने बताएको छ । नयाँ सरकार निर्माणमा सहज बहुमत ल्याउन सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनमत पार्टीका अध्यक्ष डा।सीके राउतलाई समेत आफ्नो पक्षमा ल्याएको कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन प्रकृया थाल्ने तयारीमा लागेको छ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको मत परिणाम सार्वजनिक गर्नसाथ नयाँ सरकार गठनको तयारीमा लाग्ने जानकारी दिँदै कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले भन्नुभयो– ‘अहिले गठबन्धनलाई नै निरन्तरता दिँदै कांग्रेसकै नेतृत्वमा सरकार निर्माणको तयारीमा छौं । व्यवस्था बचाउने आन्दोलनमा सँगै भएर गठबन्धन गरेका दलहरूबीच नै नयाँ सत्ता सहकार्य हुन्छ ।

विकल्प केही सोचेका छैनौं । गठबन्धनलाई निरन्तरता दिँदै कांग्रेसकै नेतृत्वमा सरकार बनाउने कुरामा सबै दलहरूबीच सहमति हुन्छ । हामी सकेसम्म सहज बहुमत जुटाउने प्रयासमा छौं, धेरैभन्दा धेरै दलहरूलाई सरकारलाई समर्थन गर्न आग्रह गर्छौं ।’ कांग्रेसका नेता डा। शेखर कोइरालाले पनि गठबन्धनकै सरकार बन्ने प्रष्ट पार्दै भन्नुभयो– ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ ।

तर, त्यो सरकारले तपाईं हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन रु यसमा चुनौती छ ।’ कांग्रेसको साख गिर्न नदिने भन्दै उहाँले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने समेत बताउनुभयो ।कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्दा वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बलियो सम्भावना रहेको छ ।

प्रकाशित मिति: Dec 7, 2022

प्रतिक्रिया दिनुहोस्