Logo
६ चैत्र २०८०, मंगलबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीविरुद्धको मुद्दा : विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दायर

घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाइएको तीनवटा मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।

अख्तियारको सोमबारको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए। अख्तियारले घुस लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय रुपियाँ बिगो कायम गरी सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, विशेष अदालतले प्रतिवादीलाई सफाइ दिएकोले अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो । अख्तियारले प्रतिवादी र निवेदकबीच भएको अडियो कुराकानीसहित घुस रकम रंगेहात बरामद गरेको जानकारी दिएको छ ।त्यस्तै, विशेष अदालतले सफाइ दिएको शिवशंकर महतोको मुद्दामा पनि अख्तियारले पुनरावेदन दिएको छ ।

महतोविरुद्ध १० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । त्यसै गरी हरिचन्द्र ठाकुर र अरुणकुमार यादवविरुद्धको मुद्दामा पनि अख्तियारले पुनरावेदन गरेको सहायक प्रवक्ता थपलियाले बताए। उनीहरूमाथि १५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।

दुवै प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएको थियो । सबै मुद्दामा प्रतिवादीविरुद्ध पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाइ दिएको आयोगको भनाइ छ ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्