Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि भक्तपुरमा सुरु भएको छ । ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आई।ई।ई।ई। पी।ई।एस। को संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उदघाटन गर्दै संघीय सांसद प्रेम सुवालले ऊर्जा र जलस्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नेपालले अपेक्षित उपलब्धी हासिल गर्न नसक्नुमा शासक दल दोषी रहेको आरोप लगाए । देशमा उपलब्ध जलस्रोतको अधिकत्तम उपयोग र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

नेपाल जलविद्युतको विकासमा अत्यन्त सम्भावना भएको देश भएर पनि भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था आएकोमा उनले दुःख व्यक्त गरे । नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण खम्बाको रूपमा रहेको विद्युत सस्तोमा भारतलाई बेच्ने र महँगोमा खरिद गर्ने गरेको कारण पनि देश आर्थिक रुपले अझ झन पछाडि धकेलिँदै गएको उनको भनाइ थियो । नेपालको जलस्रोतमाथि भारतको नियन्त्रण बढ्दै जानुले नेपाल कहिल्यै समृद्ध हुन नसक्ने सांसद सुवालले बताए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा उत्पादित बिजुली बेच्ने कारण देखाउँदै शासक दलहरूले एमसीसी जस्ता सम्झौता संसदबाट अनुमोदन गरेको बताए । प्रजापतिले विद्युत उत्पादन गरेर जनतालाई सस्तोमा वितरण गर्नुको सट्टा हप्ताको दुई दिन बिदा र यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने जस्ता सुझाव दिएर आयल निगमले सरकारलाई उल्टो बाटोमा अगाडि बढाउन खोजिरहेको उल्लेख गरे ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको बताइन् । जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा, जलस्रोत तथा सिँचाइको उचित विकास, संरक्षण तथा प्रवद्र्धन गर्न र यस क्षेत्रलाई विशिष्टीकरण गरी नेपाललाई समृद्ध बनाउन आयोग क्रियाशील रहेको बताए ।

प्रकाशित मिति: Aug 8, 2022

प्रतिक्रिया दिनुहोस्