Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनोज-झपेन्द्र स्मृति दिवसमा अनेरास्ववियुको रक्तदान

सहीद मनोज जोशी-झपेन्द्र कार्कीको ३१औं स्मृति दिवसको अवसरमा अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रम गरेको छ ।

कर्मचारी आन्दोलनका क्रममा सहिद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शुक्रबार अनेरास्ववियुले रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगतको अभावमा ज्यान गुमाउन बाध्य सर्वसाधारणलाई लक्षित गर्दै रक्तदानको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताए ।

कार्यक्रममा पाँचजनाले रक्तदान गरेको र १० जनाले जुनसुकै बेला रक्तदान गर्नेगरी नाम र सम्पर्क नम्बर रक्तसञ्चार केन्द्रलाई बुझाइएको अनेरास्ववियुले जनाएको छ । रक्तदातालाई एमाले सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल, रेडक्रसका मन्त्री छत्र बजिमयले प्रमाणपत्र प्रदान गरेका थिए ।

१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा शुक्रबार दिक्तेलस्थित मनोज मार्ग सरसफाइ गरिएको छ । १४ साउन बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण र १५ साउनमा जोशीको समाधिस्थलमा श्रद्धाञ्जली सभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए ।

जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदै आएको छ । जोशीलाई सरकारले २२ माघ २०७४ सहिद घोषणा गरेको थियो ।

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्