Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्र सार्वजनिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो ।

‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले सार्वजनिक गरेका छन् ।

हलेसी गढीको इतिहासलाई अभिलेखीकरण एवं संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरणका लागि इतिहास खोतलेर पुस्तक र भिडियो वृत्तचित्रमा संग्रहित गरिएको हलेसी गढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताए ।

पुस्तक नेपाली, चाम्लिङ र अंग्रेजी भाषामा लेखिएको छ । कार्यदलले दिएको जिम्मेवारी अनुसार मुन्दुम अध्ययन–अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद र गढीका इतिहास जानकार स्थानीयसँगको अध्ययन र कुराकानीका आधारमा ‘होलैसुङ र हलेसी गढी’को दस्ताबेजीकरण गरेका हुन् । भिडियो वृत्तचित्र भने पत्रकार दिपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।

किराती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा बिक्रम सम्बत १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको अध्यता चामलिङ बताउँछन् ।

हलेसी गढीको ऐतिहासिक पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्मृतिका कुरा पुस्तान्तरणसँगै क्रमशः विस्मृत हुँदै गएका छन् । गढीमा रहेका पुर्खाको चिनो, पुरातात्विक महत्वका विभिन्न भौतिक पहिचान हराउँदै नासिँदै गइरहेका छन्,’ कार्यदलका संयोजक राईले भने, ‘गढीको अस्तित्व जोगाएर यसैबाट आत्मकसम्मान र आयश्रोत प्राप्ति गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने नैतिक दायित्व र जिम्मेवारीबोध गरिएको हो । यसबाट इतिहास, संस्कृति र गढीलाई पर्यटनसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

कवि तथा गीतकार भुपाल राई, किरात राई यायोक्खाका पुर्वअध्यक्ष एबं संस्कृतिकर्मी चतुभक्त राई, डा.धनप्रसाद सुवेदी, डा.भक्त राई, लेखक चन्द्रकुमार राई हतुवाली, संस्कृतिकर्मी शालिक सताशक, दलका नेता, वडाध्यक्ष लगायतको उपस्थितिमा ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो ।

हलेसी गढीको संरक्षण र संवद्र्धनका लागि नगरपालिकाकै पहलमा २१ असार २०७८ मा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्