Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।

साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।

रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो ।

उनी मासिक एक हजार रियल पाउने गरी काठमाडाैं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् ।

पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडाैं पुगेकी छन् ।

उनी हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।

मेनपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक-पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए ।

‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौ पटक मेनपावर धाइसक्यौं,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन मेनपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ ।

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्